हेटौँडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृष्ण सेन सञ्चार जगतका क्रान्तिकारी योद्धा र कम्युनिस्ट नेता भएको बताउनुभएको छ । आइतबार कृष्ण सेनको १२ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको अन्तरक्रिया, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै उहाँले मुलकमा गणतन्त्र स्थापनाका लागि सञ्चार क्षेत्रबाट सेन जस्ता सञ्चारकर्मीहरुको भूमिका रहेको बताउनुभयो ।
उहाँले मिडियाकर्मीमा आलोचनात्मक चेतना हुनुपर्ने र आफ्नो निष्ठा पूरा गर्न प्रतिबद्धता हुनुपर्ने बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारलाई सञ्चारकर्मीहरुकोे सहयोग पाइरहेको भन्दै सञ्चार क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रेस सेन्टरले दिवसको अवसरमा मकवानपुरका अग्रज र युवा तथा क्रियाशील सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर शाखाका पूर्व अध्यक्ष नवराज शर्मा, मकवानपुरका युवा पत्रकार राजन दाहाल, एमपी शर्मा, सरला अधिकारी, प्रतीक्षा न्यौपाने र बालकृष्ण दाहाल रहेका छन् ।
कार्यक्रममा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम लगायतको उपस्थिति रहेको थियो ।