पुस्तक समीक्षा कार्यक्रमपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा बालसञ्जालमा आवद्ध बालबालिकाको सहभागितामा शनिबार पुस्तक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा वडा बाल समूह सञ्जालको समन्वयमा बालसमूह सञ्जालको प्रथम वार्षिकोत्सवको अवसरमा पुस्तक समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सञ्जालकी अध्यक्ष दर्शना सापकोटासहित ९ जनाले विभिन्न पुस्तकको समीक्षा गरेका थिए । बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक समीक्षा कार्यक्रमको आयोजना गरिएको बालमैत्री वडा सहजकर्ता अमिसा अधिकारीले जानकारी दिनुभयो । एक साताअघि वडामा रहेको रोशनी पुस्तकालयको भ्रमण गराएर बालबालिकाले पुस्तक छनोट गरेका थिए । एक साताको अवधिमा विद्यार्थीले अध्ययन गर्न भ्याएको विवरण शनिबार प्रस्तुत गरिएको थियो ।

वडा बाल समूह सञ्जालकी अध्यक्ष दर्शना सापकोटाको अध्यक्षता तथा वडा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्ति गीता त्रिपाठी, वडा सचिव पुष्पराज पौडेलको आतिथ्य रहेको थियो । पुस्तक समीक्षामा सहभागी विद्यार्थीलाई प्रमाणपत्रसहित एक थान पुस्तक समेत उपहारस्वरुप प्रदान गरिएको थियो ।