हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा पालिका र प्रधानाध्यापकहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । आइतबार एक कार्यक्रमका बीच पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान र प्रधानाध्यापकहरुबीच कार्यसम्पादन सम्झौता भएको हो ।

पालिकाभित्रका सामुदायिक विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धी सुधारका लागि सम्झौता गरेको पालिकाका शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो । सम्झौतापत्रमा विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक उपलब्धीमा सुधारका लागि विद्यालयको दूरदृष्टिसहितको गुरुयोजना निर्माण गर्ने र सोको आधारमा पाँच वर्षे विद्यालय सुधार योजना चालु शैक्षिक सत्रमा निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।

विद्यालय सेवा क्षेत्रभित्रका ५ देखि ९ वर्षसम्मका सबै बालबालिकालाई विद्यालय ल्याउने र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्ने भएको छ । यस्तै, विद्यालयमा बालबालिकालाई नियमित आउन र शैक्षिक सत्रको अन्तसम्म टिकाएर राख्न बालमैत्री विद्यालय व्यवस्थापन, समय–समयमा अभिभावक परामर्श, बालसुलभ व्यवहार तथा भयरहित शिक्षणको अवस्था सिर्जना गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

प्रारम्भिक बालकक्षादेखि कक्षा तीनसम्म कक्षा शिक्षणको व्यवस्थापनसहित धुलोरहित कक्षाकोठा निर्माण गरी भुइँखाटमा कार्पेटसहितको बालमैत्री बसाई व्यवस्थापन मिलाएर निरन्तर विद्यार्थी मूल्यांकनमार्फत् बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिने कार्यसम्पादन सम्झौतामा उल्लेख छ । विद्यार्थी अनुपस्थितिको मासिक विश्लेषण गरी लक्षित अभिभावकसँग नियमित अन्तरक्रिया तथा भेटघाट र कक्षा शिक्षक, विषय शिक्षक र प्रधानाध्यापक तथा सम्बन्धित विद्यार्थीका अभिभावकका बीचमा त्रैमासिक भेलाको व्यवस्थापन गर्ने भएको छ ।

यस्तै, सरोकारवालाहरुसँगको समन्वय र सहकार्यबाट विद्यालयमा पुस्तकालयको व्यवस्थापन, सूचना प्रविधिसहितको शिक्षण, श्रव्यदृष्य सामग्रीद्वारा शिक्षण तथा विज्ञान प्रयोगशालाको व्यवस्थापनका लागि पूर्वाधार निर्माण र शिक्षक क्षमता अभिवृद्धिजस्ता कार्यहरुमा जोड दिने भएको छ । विद्यालयका प्रत्येक शिक्षकबाट विषयगतरुपमा आवश्यक शैक्षिक सामग्रीको सूची तयार गर्न लगाएर शैक्षिक सामग्री संकलन तथा निर्माण कार्यशाला सञ्चालन गर्ने, खरिद गर्नुपर्ने सामग्री बजारबाट खरिद गर्ने व्यवस्था मिलाएर सामग्रीसहितको शिक्षण सुनिश्चित गर्ने भएको छ ।

विद्यालयमा विषय शिक्षण समिति बनाएर विषय शिक्षण विभागीय प्रमुखले अन्य शिक्षकहरुको कक्षा अवलोकन पृष्ठपोषण तथा अभिलेखीकरण गर्ने र सोको प्रतिवेदन शिक्षा शाखामार्फत् गाउँ शिक्षा समितिमा पेस गर्ने भएको छ । विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरुलाई अघिल्लो शैक्षिक सत्रको सिकाइ उपलब्धीको आधारमा चालु शैक्षिक सत्रको अन्त्यमा पु¥याउने सिकाइ उपलब्धीको लक्ष्य निर्धारण गर्न लगाएर सो पूरा गर्ने प्रतिबद्धता लिने तथा कार्यसम्पादन सम्झौता गर्ने भएको छ ।

आफ्नो शैक्षिक उपलब्धीप्रति विद्यार्थीहरुलाई जिम्मेवार बनाउन कक्षा ६ देखि माथिका प्रत्येक विद्यार्थीलाई प्रथम त्रैमासिक परीक्षाको नतिजाको आधारमा अर्धवार्षिक र वार्षिक परीक्षामा ल्याउने विषयगत प्राप्तांकको किटान गर्न लगाएर अभिभावकलाई जानकारी गराउने, सिकाइ उपलब्धी सुधारका लागि सबै विषयगत शिक्षकहरुबाट ६० सम्मलाई कम्तिमा १० प्रतिशत र ६० भन्दा माथिलाई कम्तिमा ५ प्रतिशत सिकाइ उपलब्धी बढाउने प्रतिबद्धतासहितको शिक्षण सुधार योजना निर्माण गर्न लगाई सोको कार्यान्वयनमा जोड दिने भएको छ ।

विद्यालयको सम्पूर्ण गतिविधि तथा आयव्ययको जानकारी विद्यालयका अभिभावक एवम् सरोकारवालाहरुलाई दिनका लागि प्रत्येक वर्ष गरिने सामाजिक परीक्षण र लेखा परीक्षण कार्यलाई पारदर्शी तथा सहभागितामूलक बनाई तोकिएको कार्यविधि अनुसार सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । विद्यालयका महत्वपूर्ण तथ्याङ्कहरु विद्यार्थी भर्ना अभिलेख, शिक्षक विद्यार्थी उपस्थिति अभिलेख, शिक्षकहरुले उपभोग गरेको तथा सञ्चित बिदा, विद्यार्थी सिकाइ उपलब्धी, विद्यालयको सम्पूर्ण आयव्यय, जिन्सी अभिलेख, छात्रवृत्तिलगायतका विद्यालयका महत्वपूर्ण अभिलेखहरुको पारदर्शी ढङ्गबाट व्यवस्थापन र सुरक्षा गर्ने सम्झौता भएको हो ।

विद्यार्थीहरुका लागि वितरण गर्नुपर्ने छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने, शिक्षा ऐन तथा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन र समितिको काम, कर्तव्य र अधिकारको प्रयोग हुने वातावरण सुनिश्चित गर्ने र नियमानुसार बैठक बसी शैक्षिक सवालमा छलफल र कार्यान्वयनको अवस्था आदिको बारेमा प्रधानाध्यापक बैठकमा प्रतिवेदन पेस गर्ने र कार्यहरुको कार्यान्वयनका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक स्टाफको संयुक्त बैठकबाट आवश्यक निर्णयसहित स्पष्ट कार्ययोजना शिक्षा शाखामार्फत् गाउँ शिक्षा समितिमा पेस गर्ने सम्झौतापत्रमा उल्लेख छ । आइतबार नै प्रधानाध्यापकहरुको नेतृत्व विकास तालिम आयोजना भएको छ ।

तालिममा धनञ्जय शर्मा, टीका भट्टराई र वीरबहादुर राईले सहजीकरण गर्नुभएको थियो । पालिकाका सामाजिक विकास समितिका संयोजक एवम् ३ नम्बर वडाध्यक्ष कमानसिंह पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान, १ नम्बर वडाध्यक्ष यहुन्ना राई, २ नम्बर वडाध्यक्ष जनक पहरी, ५ नम्बरका वडाध्यक्ष विजय भोलन र ७ नम्बर वडाध्यक्ष उत्तर भोलनलगायतको आतिथ्य रहेको थियो ।