हेटौँडाः बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा कार्यान्वयनको घोषणा गर्ने दिन यही बैशाख २४ गते सोमबार हेटौँडामा नेवार र तामाङ समुदायले विशेष झाँकीसहित खुसियालीमा नेवाः तामाङ भाषा दिवस मनाउने भएको छ । प्रदेश सरकारले काठमाडौंमा विशेष समारोहको आयोजना गरेर प्रधानमन्त्रीमार्फत कामकाजी भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
संघीय राजधानीसँगै प्रदेशको राजधानीमा पनि विशेष खुसियाली र उत्सव मनाउने तयारी भएको नेवा देय दबु बागमती प्रदेश समितिका अध्यक्ष विष्णुगोपाल महर्जनले बताउनुभएको छ । शुक्रबार बिहान हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेवाः देय दवु र नेपाल तामाङ घेदुङको प्रदेश समितिले संयुक्तरुपमा नेवाः तामाङ भाषा दिवस मनाउन लागिएको जनाएको छ । हेटौँडाको बुद्धचोकबाट र्याली सुरु भई नगर परिक्रमापछि हेटौँडा–२ स्थित वनस्खण्डीदेवी मन्दिर परिसरमा सभा तथा नेवाः साँस्कृतिक संग्रहालयको शिलान्यास गरिने महर्जनले जानकारी दिनुभयो । र्यालीमा नेवारी तथा तामाङ समुदायको झाँकी समेत रहनेछ ।
भाषा आयोगले प्रदेशमा बहुसंख्यक नागरिकले बोल्ने दुईवटा भाषालाई कामकाजी भाषाको रुपमा लागु गर्न सकिने उल्लेख गर्दै बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा प्रचलनमा ल्याउन सिफारिस समेत गरेको थियो । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलान, नेवाः देय दवु बागमती प्रदेश समितिका सचिव गणेश कुमार श्रेष्ठ, मकवानपुर जिल्ला अध्यक्ष विष्णुलाल श्रेष्ठ, हेटौँडा उपमहानगर समितिकी अध्यक्ष प्रतिमा श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।