सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको ३ वटा जिल्लामा विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । चितवन, रामेछाप र सिन्धुली जिल्लामा एकै दिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको हो ।

चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५, मुग्लिनमा रहेको त्रिशुली नदीको किनारमा एक जना पुरुष मृत फेला परेका छन् । बिहीबार नामथर नखुलेको अन्दाजी २५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा लगिएको छ ।

यस्तै, चितवन जिल्लाको राप्ती नगरपालिका–२, गड्यौलीमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया निमाकुमारी रिजाल रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार बिहान ७ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७५३ नम्बरको बसमा सवार रिजाललाई बसबाट ओर्लने क्रममा सोही बसले दिएको ठक्करबाट गम्भीर घाइते भएकी थिइन् । घाइते रिजाललाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा सोही दिन बिहान ७ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका–११, काउले डाँडागाउँमा आगोले पोलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया साइलीमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
तामाङ बैशाख ३ गते खाना पकाउने क्रममा शरीरमा आगो सल्किन गई गम्भीर घाइते भएकी थिइन् । घाइते तामाङलाई उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पताल लगिएकोमा उपचारको क्रममा बिहीबार बिहान ११ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सन्धुली जिल्लाको कमलामाई नगरपालिका–१, खारखोलामा आगोले पोलेर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७३ वर्षीया कृष्णमाया पौडेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

तामाङ बुधबार घर नजिक रहेको आफ्नै बारी पाखामा आगो लगाउन गएकोमा बेलुकासम्म घर नआएकाले आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा बिहीबार बिहान १० बजेर ३० मिनेटको समयममा पूर्णरुपमा जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।