हेटौंडाः नेपाल निवृत्त शिक्षक समाज हेटौंडा उपमहानगर कमिटी र मकवानपुरगढी गाउँपालिका कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट हेटौंडा उपमहानगर कमिटीमा पिताम्बर बास्तोला र मकवानपुरगढी कमिटीमा शत्रुघन दुलाल अध्यक्षमा चयन हुनुभएको छ ।

हेटौंडा उपमहानगरभित्रका निवृत्त शिक्षकहरुको उपस्थितिमा भएको अधिवेशनबाट बास्तोलाको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा नारायण ठाकुर, सचिवमा नारायण पोखरेल र कोषाध्यक्षमा दुर्गाप्रसाद कोइराला चयन हुनुभएको छ । अधिवेशनको अवसरमा निवृत्त जेष्ठ शिक्षक रामप्रसाद ढुंगानालाई सम्मान गरिएको छ । कमिटीका संयोजक तथा जिल्ला सदस्य शिवप्रसाद लामिछानेको सभाध्यक्षता तथा केन्द्रीय कमिटीका सचिव अभिमन्यू गौतमको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

यस्तै, मकवानपुरगढी गाउँपालिकास्तरीय अधिवेशनले दुलालको अध्यक्षतामा ७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा विष्णु सापकोटा र सचिवमा बलराम फुयाँल चयन हुनुभएको छ । पालिका कमिटीका संयोजक तथा जिल्ला सदस्य सीताराम दाहालको सभाध्यक्ष तथा केन्द्रीय कमिटीका सचिव अभिमन्यू गौतमको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

अधिवेशनमा शिक्षकहरुले आफूहरु निवृत्त भए पनि विद्यालयमा प्राप्त गरेका सीप, अनभुव र शैक्षिक ऊर्जालाई शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर विकास गर्न योगदान दिने बताएका छन् । राज्यले निवृत्त शिक्षकहरुलाई उपेक्षित नगरी शिक्षाका नीति निर्माणदेखि योग्यता र क्षमताका आधारमा विषय विज्ञ, पाठ्यक्रम निर्माणजस्ता क्षेत्रमा सहभागी गराउन सरकारसँग मागसमेत गरिएको छ ।