यु–१३ को खेलाडी छनोट कार्यक्रममा सहभागी खेलाडीहरु ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१३ को खेलाडी छनोट कार्यक्रम सुरु गरेको छ । १३ वर्ष उमेर समूहको राष्ट्रिय किशोर खेलाडी उत्पादन गरेर एन्फा एकेडेमी सञ्चालन गर्नका लागि हिजो बुधबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको हो ।

काठमाडौंको च्यासल मैदानमा सुरु भएको छनोट प्रतियोगितामा बागमती प्रदेशका १३ वटा जिल्लाका खेलाडीहरुका सहभागिता रहेको थियो । प्रदेशको १३ जिल्लाका फुटबल संघहरुलाई खेलाडी छनोट गर्ने निर्देशन दिएर जिल्लाबाट प्रदेश छनोटमा पर्न सफल भएका खेलाडीहरुलाई एन्फाले अन्तिम चरणको छनोट प्रतियोगितामा सहभागी गराएको हो ।

प्रदेशको १३ जिल्लाका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर बागमती प्रदेश फुटबल संघले १ सय ३७ जना छात्र खेलाडीहरुको नाम सार्वजनिक गरेको थियो । बुधबारबाट सुरु भएको छनोट प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ । अन्तिम चरणको प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु एन्फा एकेडेमीमा सहभागी हुन पाउनेछन् ।

एन्फा एकेडेमीका खेलाडीहरुलाई विभिन्न प्रकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइने जनाएको छ । एन्फाले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले एन्फामा आवद्ध भएका ४८ वटा जिल्लाका फुटबल संघहरुलाई खेलाडी छनोट गर्ने निर्देशन दिँदै आइरहेको छ ।

एन्फाको छनोट प्रतियोगितामा मकवानपुर जिल्लाबाट १४ जना किशोर खेलाडी छनोट भएका छन् । हेटौंडा–१० स्थित वनविज्ञानको चौरमा मकवानपुर जिल्ला फुटबल संघले सुरु गरेको छनोट प्रतियोगितामा मकवानपुरबाट प्रारम्भिक छनोटमा परेको ३७ जना खेलाडीहरुमध्ये १४ जना खेलाडी छनोट भएका हुन् । मकवानपुरको प्रतिनिधित्व गर्न टिमकोचको रुपमा प्रशिक्षक भीम लामा जानुभएको हो ।