हेटौंडाः मकवानपुरमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार पछिल्लो ९ महिनामा १ सय ७५ सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको हो ।
चालु आर्थिक वर्षको साउनमा ३ जना, भदौमा एक, असोजमा ६, कार्तिकमा ७, मंसिरमा १२, पौषमा ३, माघमा ४, फागुनमा ३ जना र चैत महिनामा दुई जनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो । उक्त घटनामा ८७ जना गम्भीर घाइते भएका थिए भने २ सय ६४ जना सामान्य घाइते भएका थिए ।
सवारी दुर्घटनामा ज्यान गुमाउनेको यो सङ्ख्या गत आर्थिक वर्षको भन्दा कम हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म २ सय ५२ सवारी दुर्घटनामा ६१ जनाको मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्यका अनुसार लापरबाही तरिकाले सवारी साधन चलाउने गर्दा दुघर्टना हुने गरेको छ ।
ओभरस्पिड, मद्यपान र लागूऔषध सेवन गरी सवारी साधन चलाउने गर्दा अझ बढी दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । सवारी दुर्घटना प्रायःगरी चाडपर्वको समयमा बढी हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आइरहे पनि अझै सवारी चालकहरुले नियमको अटेर गर्ने गरेको पाइएको छ ।
ट्राफिक नियम आफैंका लागि नभई प्रहरीका लागि जस्तो गर्ने र प्रहरीको अगाडिमात्र पालना गर्ने गरेको प्रमुख आचार्यकोे भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमबारे विद्यार्थीलाई कक्षा, मापसे कक्षा, नयाँ सवारी चालक र व्यवसायीहरुलाई सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।