हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षाको नतिजा प्रकाशन भएको छ । कक्षा–८ को परीक्षाको नतिजा प्रकाशन चैत २५ गते आइतबार भएको थियो ।
आइतबार प्रकाशन भएको नतिजामा ५ सय ४७ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । थाहा नगरपालिकामा कक्षा–८ सम्म पढाई हुने संस्थागत विद्यालय ६ वटा र सामुदायिक विद्यालय १८ वटा गरी २४ वटा विद्यालय रहेको थाहा नगरपालिकाको शिक्षा शाखाका अधिकृत सूर्यबहादुर थिङ्गले जानकारी दिनुभयो ।
थाहा नगरपालिकामा कक्षा ८ मा भर्ना भएका ५ सय ९५ जना विद्यार्थीहरु रहेका थिए । भर्ना भएका सबै विद्यार्थीहरुले परीक्षा फारम भरेको र २ जना विद्यार्थीले परीक्षा नदिएको शिक्षा अधिकृत थिङ्गले बताउनुभयो । परीक्षा फागुन ३० गते बुधबार सुरु भई चैत ७ गते बुधबार सकिएको थियो ।
परीक्षा दिएका ५ सय ९५ जनामध्ये ४८ जना विद्यार्थीहरु अनुत्तीर्ण भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षको नतिजाको तुलनामा यस वर्षको परीक्षाको नतिजा राम्रो आएको छ ।