लैंगिक हिंसा विश्वव्यापी समस्या भए पनि नेपालजस्तो विकासशील देशका लागि यो अझ बढी चुनौतीपूर्ण बनिरहेको छ । विशेषगरी पितृसत्तात्मक सोच र सामाजिक मूल्यमान्यता, शोषण, जातीय विभेद र चरम लैंगिक विभेदका कारण लैंगिक हिंसा हुने गरेको छ । लैंगिक हिंसाका विषयमा धेरै समयदेखि बहस, छलफल र यसको अन्त्यका लागि पहल–पैरवी हुँदै आए पनि यसको न्यूनीकरण हुन सकेको छैन । लैंगिक हिंसाभित्र महिला र पुरुष दुबैले भोग्ने हिंसालाई बुझाउने भए पनि नेपालमा पुरुषको तुलनामा महिलाहरु यस्तो हिंसाबाट बढी पीडित हुने गरेका छन् । महिला भएकै कारण हुने हिंसाले नेपालमा बढी नै प्रश्रय पाइरहेको छ । लैंगिक हिंसाबाट पीडित हुनेको संख्या बढ्दो छ । पहिले महिलामाथि हुने हिंसाको मात्र बिरोध गरिन्थ्यो भने अहिले लिंगका आधारमा महिला, पुरुष वा यौनिक तथा लैंगिक अल्पसंख्यक समूहमाथिको यौन तथा शारीरिक–मानसिक दुव्र्यवहारलाई समेत लैंगिक हिंसाका रुपमा लिने गरिएको छ ।
लैंगिक हिंसालाई शारीरिक, मानसिक, यौन हानि वा पीडा कार्यहरु, धम्की, जबर्जस्ती र स्वतन्त्रताबाट वञ्चित गर्ने कार्यको रुपमा परिभाषित गर्ने गरिएको छ । लैंगिक हिंसा प्रमुख सामाजिक समस्या बनेको अवस्थामा यो समस्या अन्त्य गर्न संरचनागत असमानताबाट सिर्जित भेदभाव र यसमा अन्तर्निहित कारणलाई सम्बोधन गर्न आवश्यक छ । नेपालको संविधानले पनि लैंगिक विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ । समान नागरिक, समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्राथमिकता दिइएको छ । संविधान तथा राज्यका थुपै्र ऐन, कानुन, नीति, नियमले लैंगिक हिंसा अन्त्यका लागि कानुनी र नीतिगत व्यवस्था गरेको भए पनि लैंगिक हिंसा कायमै रहँदा यसको न्यूनीकरणका लागि अभियान चलाउन आवश्यक भएको बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताएकी छिन् । जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गरेको कार्यक्रममा मन्त्री मोक्तानले लैंगिक हिंसा न्यूनीकरणका लागि गाउँ तहसम्म सचेतनाका कार्यक्रमहरु अभियानकै रुपमा चलाउनुपर्ने बताएकी हुन् ।
ग्रामीण क्षेत्रमा अझै पनि पर्याप्त सचेतना नभएका कारण महिलाहरु लैंगिक हिंसामा परिरहेको र सहरमा पनि अदृश्यरुपमा लैंगिक हिंसाका समस्या रहेको उनको भनाइ छ । पराम्परागत संस्कारहरुले महिला हिंसाबाट पीडित हुन परिरहेको भन्दै मन्त्री मोक्तानले हिंसा नहुन आफैं सचेत हुनुपर्ने र अरुलाई पनि सचेतना जगाउनुपर्ने बताएकी छिन् । अहिले पनि पुरुषले महिलाको तुलनामा समाजमा स्वतन्त्रता पाएको र महिला घरभित्रै दवावमा बस्नुपर्ने अवस्था भएकाले हिंसा हुने गरेको कार्यक्रमका वक्ताहरुको भनाइ छ । पछिल्लो समय महिला सशक्तिकरणका लागि उल्लेख्य काम भइरहेको र समाजसमेत सचेत बन्दै गएको अवस्थामा पनि लैंगिक हिंसाका घटना कम हुन नसक्दा यसको न्यूनीकरणका लागि थप गम्भीरता आवश्यक देखिएको छ ।
हिंसाका कारण समाजमा धेरै समस्याहरु देखिन्छन्, जसले व्यक्ति, परिवार, समाज हुँदै सिङ्गो राष्ट्रलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा असर पुग्दछ । महिला हिंसा वा पुरुष हिंसा जे भए पनि लिंगको आधारमा कोही कसैले कसैलाई पनि हिंसा गुर्न हुँदैन । हिंसा नगर्नेमात्र होइन, हिंसा सहनु पनि हुँदैन । सरकारले प्रभावकारी रणनीतिका साथ योजनाहरु निर्माण गरी सबैको सहभागितामा दिगो किसिमका सेवा र सचेतनामूलक गतिविधिहरु सञ्चालन गरेर लैंगिक हिंसा न्यूनीकरण गर्नुपर्छ । यसका साथै, महिलालाई आय आर्जनका गतिविधिमा संलग्न गराउने, रोजगारीका अवसरहरु प्रदान गर्ने, सीपमूलक र क्षमता अभिवृद्धिका लागि उपयोगी कार्यक्रम लागू गर्ने, भएका नीति, नियम कार्यान्वयन तथा कानुनी सचेतनाजस्ता विषयहरुलाई सम्बोधन गर्न सके लैंगिक हिंसा न्यूनीकरण हुनसक्छ ।