मनोज थिङ प्रिन्सीपल, नवोदय शिशु सदन

हेटौँडाः नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविको प्रिन्सीपलमा मनोज थिङ नियुक्त हुनुभएको छ । बुधबार विद्यालय व्यवस्थापन समितिले थिङलाई प्रिन्सीपल नियुक्त गरेको विद्यालयका शैक्षिक निर्देशक दिपेश जोशीले जानकारी दिनुभएको छ । २०५२ सालमा स्थापित नवोदयमा स्थापनाकालदेखि नै शकुन्तला जोशी प्रिन्सीपल हुनुहुन्थ्यो । थिङ दोस्रो प्रिन्सीपलको रुपमा नियुक्त हुनुभएको हो ।

शैक्षिक नेतृत्व विषयमा काठमाडौं विश्वविद्यालयबाट एमफिल तहको शोधअनुसन्धानको चरणमा रहनुभएका थिङ यसअघि नवोदयमा शैक्षिक निर्देशकको रुपमा काम गर्दै आइरहनुभएको थियो । ४ वर्ष नवोदयमा अंग्रेजी विषयको शैक्षिक सुपरीवेक्षकको रुपमा काम गरिरहनुभएका थिङ एमफिल तहको अध्ययनकै लागि करिब डेढ वर्ष काठमाडौंमा रहनुभयो । हेटौँडा–४, कर्रास्थित श्रमिक माविबाट एसएलसी उत्तीर्ण थिङले शिक्षाशास्त्र संकायमा दश जोड दुई तह र स्नातक तह हेटौँडा क्याम्पसबाट पूरा गर्नुभएको हो । थिङले काठमाडौंस्थित आरआर क्याम्पसबाट स्नात्तकोत्तर तह मानविकी संकायमा अंग्रेजी विषयको अध्ययन पूरा गर्नुभएको छ ।

प्रिन्सीपल नियुक्तिपछि थिङले विद्यालयको मिसन, भिजनअनुसार काम गर्ने बताउनुभएको छ । नवोदयले भयरहित, गृहकार्यको बोझरहित शिक्षा लागु गर्दै गर्दा विद्यार्थीमा पठनपाठनप्रति चासो कम हुँदै गएकोले विद्यार्थीलाई पठनपाठनमा केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको थिङले बताउनुभयो । विद्यालयको संरचना र दक्ष शिक्षक विद्यालयको सवल पक्षमा रहेको उल्लेख गर्नुहुँदै थिङले भन्नुभयो, “नवोदय राम्रो विद्यालय हो भनेर आउने शिक्षकहरुलाई नवोदयलाई राम्रो बनाउन गर्नुपर्ने मिहिनेतमा अभ्यस्त गराउनु चुनौतिको विषय छ ।”

प्रिन्सीपलसँगै विद्यालयले विद्यालयको तालिम विभाग प्रमुखमा नरेन्द्र कुमार नगरकोटी, प्रशासन तथा लेखा प्रमुखमा शरदराज पाण्डे, मावि तह संयोजकमा सिएम रिमाल, शैक्षिक प्रमुख (मावि) मा मञ्चन तिवारी र शैक्षिक प्रमुख (प्राथमिक) सचिता पाण्डेलाई नियुक्त गरेको छ । प्रिन्सीपलसहित सबै तहमा नियुक्त पदाधिकारीले विद्यालयको शैक्षिक सुधारमा उल्लेखनीय काम गर्ने अपेक्षा गर्नुहुँदै विद्यालयका निर्देशक दिपेश जोशीले भन्नुभयो, “विद्यालयको नियमित कामलाई व्यवस्थित गर्नुका साथै विद्यार्थीमा पठनसंस्कृतिको विकास गर्ने, विद्यार्थीमा आत्मविश्वास बढाउने, उनीहरुको व्यवहारमा सकारात्मक चरित्र विकास गर्नेतर्फ नयाँ नेतृत्वले काम गर्नेछ ।” १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।