जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिताको बारेमा जानकारी गराउदैँको तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुक्रबार र शनिबार प्रथम संस्करणको जिल्लास्तरीय खुला नकआउट व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका वरिष्ठ उपाध्यक्ष विजयसिंह ठकुरीले हेटौंडा–११, थानाभर्याङको कभर्डहलमा हुन लागेको प्रतियोगिताको बारेमा जानकारी गराउनुभएको हो ।

प्रतियोगितामा जिल्लाभित्रका स्थायी बासिन्दा र व्यापार व्यवसायमा आवद्ध भएका खेलाडीहरु सहभागी हुन पाउने उपाध्यक्ष ठकुरीले बताउनुभयो । प्रतियोगितामा ४५ वर्ष उमेर समूह र खुला उमेर समूहका खेलाडीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । खुलातर्फ करिब ६० जना र ४५ वर्ष उमेर समूहको भेट्रान्सतर्फ २० वटा टिम सहभागी हुने अनुमान रहेको उहाँले बताउनुभयो ।

थाहा नगरपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकाबाट आउने टिमहरुका लागि प्रतियोगिता अवधिभर निःशुल्क खाने र बस्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताको टिमदर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । ब्याडमिन्टन खेलको विकास गर्न, जिल्लाबाट नयाँ खेलाडीहरु उत्पादन गर्न, रेफ्री उत्पादन गर्न, हलहरु व्यवस्थापन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

भेट्रान्सतर्फको उपाधि विजेता टिमले २० हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने खुलातर्फको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको २ जना उत्कृष्ट खेलाडीहरुलाई ५–५ हजार रुपैयाँ नगद राशिसहित पुरस्कृत गरिनेछ ।

यस्तै, प्रतियोगितामा सहभागी २० वर्षभन्दा कम उमेर समूहका खेलाडीलाई वर्ष २०८० को उदीयमान खेलाडीको पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका र हेटौंडाका ११ वटा वडाहरुबाट सहयोग प्राप्त हुने जनाइएको छ ।