हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा आज आइतबारबाट सञ्चालन गर्दैछ । माघ २५ गते हेटौँडा उपमहानगरपालिकाले परीक्षाको तालिका प्र्रकाशन गरेको थियो । दिनको १ बजेबाट सञ्चालन हुने परीक्षा चैत १० गतेसम्म सञ्चालन हुनेछ । हेटौँडा उपमहानगरपालिकाका ८१ वटा विद्यालयका चार हजार तीन सय एक जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । कक्षा–८ को वार्षिक परीक्षामा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट सबैभन्दा बढी तीन सय २९ जना विद्यार्थीले फारम भरेका छन् ।
कक्षा–८ को परीक्षा तालिका र सञ्चालन विधिका विषयमा विद्यालयका प्रधानाध्यापकहरुसँगको बैठकमा दुईवटा महत्वपूर्ण पक्षमा छलफल भएको थियो । एउटा समूहले फरक विद्यालयमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्ने र परीक्षा चैत दोस्रो सातादेखि सञ्चालन गर्ने प्रस्ताव गरेका थिए । तर, अर्को समूहले परीक्षा सञ्चालन चैत पहिलो साताबाटै सुरु गर्नुपर्ने, आफ्नै विद्यालयमा परीक्षा दिने व्यवस्था हुनुपर्ने माग राखेका थिए ।
हेटौँडाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा चैतको पहिलो सातामै सुरु भएको छ भने निजी विद्यालयले चैत १६ गतेबाट सञ्चालन गर्दैछ । यस वर्षको एसईई चैत १५ गतेबाट सुरु हुँदैछ ।