हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको नियमित कार्यपालिका बैठक शुक्रबार बसेको छ । हेटौँडा उपमहानगरपालिकाले हरेक महिनाको २ र १६ गते कार्यपालिका बैठक बस्ने कार्यतालिका निर्माण गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय भने सार्वजनिक गरिएको छैन ।
बैठकमा उल्लेखनीय विषयमा छलफल नभएको उल्लेख गर्दै एक वडा अध्यक्षले भन्नुभयो, “उल्लेखनीय विषयमा छलफल भएको जस्तो लाग्दैन । एक, दुईदिनमा सार्वजनिक होला निर्णय पनि ।” सार्वजनिकरुपमा चासो व्यक्त भएपछि हेटौँडा उपमहानगरपालिकाले कार्यतालिकाअनुसार नियमित बैठक बस्ने प्रयास गरिरहेको छ । उपमहानगरले कार्यपालिका बैठकका निर्णय पनि सार्वजनिक गर्ने गरेको छ । कार्यपालिका बैठक नियमित हुन नसकेको, कार्यपालिका बैठकका निर्णय सार्वजनिक नभएको भनी निरन्तर आलोचना भएपछि पछिल्लो समय उपमहानगरपालिकाले कार्यतालिकाअनुसार बैठक बस्ने र बैठकका निर्णय सार्वजनिक गर्न सुरु गरेको हो । एक पटक कार्यपालिका बैठक सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।