हेटौंडाः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बागमती प्रदेश सरकारसँग दीर्घकालीन असर पर्ने काम नगर्न माग गरेको छ । मंगलबार नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै वर्तमान सरकार काम चलाउ सरकार भएकाले दीर्घकालीन असर पर्ने काम नगर्न माग गर्नुभएको हो ।

संसदीय दलको बैठकले वर्तमान सरकार कामचलाउ रहेको ठहर गरेकाले नियमित कामबाहेक प्रदेश सरकारलाई दीर्घकालीन असर पार्ने कुनै पनि महत्वपूर्ण निर्णय नगर्न, संवैधानिक निकायमा रहेकालाई नियुक्त नगर्नसमेत सचेत गराएको उहाँले जानकारी गराउनुभयो । दलको बैठकले पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा विभिन्न कोणबाट छलफल भएको उहाँको भनाइ छ । दलको बैठकले गरेका निर्णय प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भनेता पनि सरकारले पूरा गर्न नसन्ने भनि कार्यव्यवस्था बैठकमा जानकारी गराएकाले पत्रकारसमक्ष जानकारी गराउन परेको उहाँको भनाइ छ ।

दलको बैठकले फागुन २५ गते पार्टीका मन्त्रीहरुले राजीनामा दिएको र सोही दिनबाट सरकारलाई दिइएको समर्थन फिर्ता लिई बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहेर प्रभावकारी रुपमा कार्य गर्नेसमेत निर्णय गरेको उहाँको भनाइ छ । गत फागुन १७ गते संसदको पूर्ण बैठकले गठन गरेको संसदीय विषेश समितिले तयार पारेको प्रतिविदेन संसदमा तत्काल पेश गरी कार्यान्वयन गर्न प्रदेश सरकारसँग मागसमेत गरेको छ ।