हेटौंडाः मतदाता नामावली अद्यावधिक गर्ने तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्य देशभर भइरहेको छ । निर्वाचन आयोगले सोमबार आयोगको वेवसाइटमा मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन गरेको हो ।
आयोगले प्रकाशन गरेको नामावलीमा कुनै त्रुटी भएमा आज फागुन २९ गते मंगलबारदेखि सच्याउन सकिने जनाइएको छ । मतादाताहरुले आफ्नो वडा कार्यालयमा उपस्थित भएर वा आयोगको वेवसाइट (इलेक्सन डट जीओभी डट एनपी) बाट त्रुटि सच्याउन सक्नेछन् ।
फागुन २८ गतेदेखि चैत्र २२ गतेसम्म जिल्लाभित्रका सबै पालिकाको वडा कार्यालयमा मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम सञ्चालन हुनेछ । आयोगले त्रुटि सच्याउनका लागि विभिन्न दिन तोकेको छ । २९ गतेदेखि चैत्र ५ गतेसम्म मतदाताहरुले कसैले झुटा विवरण समावेश गरेको भएमा विरोधको उजुरी दिन सक्नेछन् ।
२९ गतेदेखि चैत्र ५ गतेसम्म नै कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा छ भने एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिन्छ र मतदाता नामावलीमा नाम भएका व्यक्तिको मृत्यु भएको वा नागरिकता त्याग गरेको भएमा मतदाता नामावलीबाट नाम हटाउनका लागि सूचना दिन सकिन्छ ।
सोहि मितिको बिचमा मतदाताहरुले वडा कार्यालयमा दर्ता भएका निवेदन प्राप्त गर्न सकिनेछ । कुनै मतदाता बसाइँसरी गएको, मृत्यु भएको, नागरिकता त्याग÷रद्द भएको प्रमाणित विवरण प्राप्त गर्न सकिन्छ भने चैत्र ६ गतेदेखि चैत्र ८ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइनेछ । यस्तै, चैत्र ९ गतेदेखि चैत्र १२ गतेसम्म निर्वाचन कार्यालयमा मतदाता नामावलीबाट नाम हटाउने सम्बन्धमा आवश्यक छानविन गरी प्रमुख नामदर्ता अधिकारीले त्रुटि सच्याउने र नाम हटाउनेलगायत कानुनबमोजिम निर्णय गरिनेछ ।
चैत्र १२ गतेदेखि १५ गतेसम्म निर्वाचन कार्यालय र वडा कार्यालयमा नाम हटाइएको सूचना प्रकाशन गर्ने र फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासँगं आयोगमा पठाउन सकिनेछ ।
यस्तै, चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन धेरै आवश्यक रहेको आयोगले जानकारी दिएको छ । मकवानपुर जिल्लामा यसअघि मतादाता संख्या ३ लाख एक हजार ७ सय ९९ रहेको थियो भने अहिले ३ लाख ५ हजार २ सय ७ रहेको छ । आप्mनो डाटा शुद्ध प्राप्त गर्नका लागि नामावलीबाट त्रुटि सच्याउन आवश्यक हुने निर्वाचन आयोग बागमती प्रदेश कार्यालयकी नायव सुब्बा सम्झना ढकालले जानकारी दिनुभयो ।
नागरिता अनुसारको विवरण फरक परेपछि समस्या आउने कारण विभिन्न पक्ष सच्याउन आवश्यक हुने उहाँले प्रष्ट पार्नुभयो । जिल्लाभित्रका सबै पालिकाका वडा कार्यालयमा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा मुख्य भूमिका निर्वाचन कार्यालय र स्थानीय तहअन्तर्गत् वडा कार्यलयको रहने बताइएको छ ।