हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको चन्द्रगढी आधारभूत स्वास्थ्य सेवा केन्द्र, चखेलमा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । शिविरमा ८९ जना महिलाको स्वास्थ्य जाँच गरिएको इन्द्रसरोवर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकामा गर्भवती महिलाहरु तथा ३० देखि ६० वर्षसम्मका महिलाहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको हो । शिविरमा महिलाहरुको पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सरको जाँच, स्तन क्यान्सरको जाँच, बाँझोपनाको परामर्श, अब्स्टेट्रिक फिस्टुलाको जाँच र पाठेघरको संक्रमणको जाँच तथा गर्भवती महिलाहरुलाई गर्भजाँच साथै ग्रामीण भिडियो एक्स–रेको सेवा प्रदान गरिएको थियो ।
गाउँपालिकाले ५ दिने शिविरको आयोजना गरेको थियो । कार्यक्रमको पहिलो दिन चन्द्रगढी आधारभूत स्वास्थ्य सेवा केन्द्र, चखेलमा भएको छ भने आज सोमबार मार्खुको मार्खु स्वास्थ्य चौकीमा हुने अधिकारीले बताउनुभयो । मंगलबार फाखेलको फाखेल स्वास्थ्य चौकी, बुधबार सिस्नेरीको सिस्नेरी स्वास्थ्य चौकी र बिहीबार खानीखेतको कुलेखानी स्वास्थ्य चौकीमा कार्यक्रम आयोजित गरिएको छ । गाउँपलिकाको विभिन्न वडा तथा स्थानमा कार्यक्रम गर्ने भएको छ । शिविरमा गाउँपालिकाले ३ सयभन्दा बढीको लक्ष्य बनाएको छ ।