नयाँ समिति निर्वाचित भएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघको अध्यक्षमा अमित श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचन कार्यक्रमबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । श्रेष्ठ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । समितिका पदाधिकारी सर्वसम्मत निर्वाचित भए पनि ४ जना खुला सदस्य चयनका लागि भने मतदान भएको थियो ।

संघको उपध्यक्षमा राजेन्द्र लामिछाने, महासचिवमा सुदर्शन पाठक, कोषाध्यक्षमा दिपेशमणि भण्डारी, सचिवमा अंकित खतिवडा र महिला सदस्यमा पुजा अग्रवाल सर्वसम्मत निर्वाचित हुनुभयो । खुलातर्फ ४ जना सदस्यमा भने निर्वाचनबाट विशाल दाहाल, रुपक कुमार बर्नवाल, अब्देश केशरी र सरोज सिवाकोटी निर्वाचित हुनुभयोे । खुला सदस्यमा ८ जना उम्मेदवार थिए ।

साधारणसभाको उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष पवन कुमार अग्रवालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । संघले निर्वाचनको कार्यक्रम शुक्रबारबाटै सुरु गरेर उम्मेदवारी दर्ताको प्रक्रिया पूरा गरेर शनिबार निर्वाचनको अन्तिम कार्य गरेको थियो । नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ । मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघमा ७२ जना सदस्य छन् ।