हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले निजी विद्यालयका सञ्चालकलाई आगामी शैक्षिक सत्रका लागि शूल्क प्रस्ताव गर्न भनेको छ । निजी विद्यालयले शूल्क प्रस्ताव गर्ने आज फागुन २० गते अन्तिम दिन हो । हेटौँडा उपमहानगरपालिकाको नगर शिक्षा समितिको माघ १६ गते निजी विद्यालयलाई आगामी शैक्षिकसत्रका लागि शूल्क प्रस्ताव पेश गर्न आव्हान गर्ने निर्णय गरेको थियो ।

शूल्क प्रस्तावको प्रक्रिया महत्वपूर्ण र संवेदनशील भए पनि उपमहानगरपालिकाले गम्भीर रुपमा व्यवस्थापन गर्न सकेको छैन । विगतका वर्षहरुमा कतिपय विद्यालयले शूल्क प्रस्ताव पेश नै नगर्दा पनि पालिकाले भने कुनै किसिमको कारवाही गर्न सकेको छैन । हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हरिचन्द्र सापकोटाले शूल्क प्रस्तावको अन्तिम मितिसम्म के कति विद्यालयले शूल्क प्रस्ताव पेश गर्छन् त्यसपछिको प्रक्रियामा पालिकाले काम गर्ने बताउनुभएको छ । विद्यालयलाई चालु शैक्षिक सत्रको शूल्क र आगामी शैक्षिक सत्रका लागि प्रस्तावित शूल्कको विवरण बुझाउन भनिएको सापकोटाले बताउनुभयो ।

यता अभिभावक भने अस्वभाविक शूल्क वृद्धि गरिएको भन्दै गुनासो गर्ने गरेका छन् । उपमहानगरपालिकाले शूल्क प्रस्तावमाथि अध्ययन गरेर प्रस्तावित शूल्क लागु गर्न अनुमति दिनेछ । मासिक शूल्क बाहेक विद्यालयले विविध शीर्षकमा अस्वभाविक शूल्क उठाउने गरेको अभिभावकको गुनासो छ । विद्यालयले पाठ्यपुस्तक र विद्यालय पोशाकमा पनि विद्यार्थी र अभिभावकमाथि शोषण गरिरहेको अभिभावकको गुनासो छ । हरेक वर्ष अभिभावकका गम्भीर गुनासा रहे पनि पालिकाले यसलाई गम्भीर रुपमा लिन सकेको छैन ।

संघीयता कार्यान्वयनपछि विद्यालय तहको शिक्षाको जिम्मा स्थानीय तहलाई रहेको छ । तर सामुदायिक विद्यालयको सवलीकरण र निजी विद्यालयमाथि उचित नियमनमा स्थानीय पालिका कमजोर सावित भइसकेको छ । हेटौँडा उपमहानगर क्षेत्रमा ७३ वटा सामुदायिक विद्यालय छन् भने ४५ वटा निजी विद्यालय छन् ।