शिविरमा आँखा परीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको आयोजनामा एकै दिन दुई स्थानमा आँखा जाँच शिविर कार्यक्रम भएको छ । बुधबार चितवन जिल्लाको खैरहनी र हेटौंडा उपमहानगरपालिका–१६ मा निःशुल्क शिविर हुँदा ७३ जनाको आँखामा मोतिविन्दु पहिचान भएको हो ।

हेटौंडा उपमहानगरपालिका–१६ स्थित हटिया अस्पतालमा भएको शिविरमा ५ सय २० जनाले आँखा जाँच गराएका थिए । आँखा जाँच गराएका ५ सय २० जनामध्ये ४० जनाको आँखामा मोतिविन्दु पहिचान भएको रोटरी क्लब अफ हेटौंडाका पूर्वअध्यक्ष तथा शिविरका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा स्वास्थ्य सहयोगी मीनबहादुर रोकाया, नेत्र अभिकृत रमा महत र वरिष्ट नेत्र सहायक चन्द्रकान्त लेखीले आँखा जाँच गर्नुभएको हो ।

यस्तै, चितवन जिल्लाको खैरहनीमा भएको आँखा शिविरमा जाँच गराएका २ सय ६६ जनामध्ये ३३ जनाको आँखामा मोतिविन्दु पहिचान भएको छ । खैरहनीमा भएको शिविरमा हेटौंडा अस्पतालबाट गएको टोलीले आँखा जाँच गरेको हो ।

मंगलबार सर्लाही जिल्लामा निःशुल्क आँखा शिविर हुँदा ९९ जनामा मोतिविन्दु पहिचान भएको थियो । आज बिहीबार मकवानपुरको बाघमारामा शिविर हुनेछ । शिविरमा पहिचान भएका मोतिविन्दु बिरामीको शुक्रबार र शनिबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने भएको छ ।