हेटौँडाः बिहिबारदेखि हेटौँडा उपमहानगर, बकैैया र मकवानपुुरगढी गाउँपालिकाका ४७ वटा सामुदायिक विद्यालयमा एक साथ विद्यालय शिक्षा परीक्षा (एसईई) अभ्यास परीक्षा हुने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाको समन्वयमा तीन वटा पालिकाका ४७ विद्यालयमा एक साथ अभ्यास परीक्षा हुन लागेको हो । अभ्यास परीक्षा दिनको १ बजेबाट सुरु हुने नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभएको छ ।
परीक्षामा सहभागी हुन ४७ वटा विद्यालयका दुइ हजार छ सय ११ जना विद्यार्थीले फारम भरेका छन् । हेटौँडा उपमहानगरपालिकाका २७ वटा, बकैया गाउँपालिकाका १२ वटा र मकवानपुुरगढी गाउँपालिकाका ८ वटा विद्यालयले नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडासँगको सहकार्यमा परीक्षा सञ्चालन गर्न लागेको हो । विद्यार्थीले अभ्यास परीक्षा आफ्नै विद्यालयमा दिनेछन् ।
नगरस्तरीय शैक्षिक समन्वय समितिले विद्यालयलाई प्रश्नपत्र र उत्तरपुस्तिका उपलब्ध गराउने छ । यसअघि मकवानपुर जिल्लाका संस्थागत विद्यालयहरुले माघ १४ गतेदेखि एसईई अभ्यास परीक्षा सुरु गरेर माघ २२ गते परीक्षा सकाइसकेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले देशव्यापी सञ्चालन गरेको अभ्यास परीक्षा फरक विद्यालयमा केन्द्र निर्धारण गरेर सञ्चालन गरेको थियो ।