हेटौंडाः विभिन्न घटनामा बागमती प्रदेशमा एकै दिन ७ जनाको मृत्यु भएको छ । प्रदेशको रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, चितवन र मकवानपुर जिल्लामा एकै दिन ७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । आइतबार राति कैलाश–७, चाइरङडाँडाबाट करिब दुईसय मिटर तल खस्दा ५० वर्षीय आइतराम चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलाश–७, टुर्डुङका चेपाङको कैलाश–३, कालिकाटार बजारबाट घरतर्फ फर्कने क्रममा गोरेटो बाटोबाट तल भिरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३, खर्पुडाँडामा एक जना पुरुष मृत फेला परेका छन् । सोमबार दिउँसो २ बजेर ५ मिनेटको समयमा सनाखत नभएको मागी खाई हिँड्ने तराई मूलको जस्तो देखिने अन्दाजी ४१ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–११, पात्लेपाखामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ५७ वर्षीय ज्ञानबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङ सोमबार बिहान १० बजेको समयमा टोड्के बजारबाट ज्याम्रुङ जाने गोरेटो बाटोबाट एकसय मिटर तल लडेर मृत अवस्थामा फेला परेका थिए । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–३ मा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्ला घर भई हाल माथिल्लो चौरीखोला हाइड्रोपावरमा काम गर्ने १९ वर्षीय शंकर सदा रहेको प्रहरीले जानकारी दिएको छ । शंकर सोमबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा हाइड्रोपावरको काम गर्ने क्रममा बेहोस भएका थिए । उनलाई उपचारका लागि डब्लुबीसी शाखा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । मुचुल्कापश्चात् शव पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ ।
यस्तै, रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका–३, चित्रेमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ४५ वर्षीय काले तामाङ रहेको प्रहरी जानकारी दिएको छ । तामाङ आइतबार आफ्नै घरबाट छिमेकीको घेवामा जान्छु भनि हिँडेकोमा घर फर्की नआएकाले खोजतलास गर्दै जाँदा सोमबार घरदेखि ५० मिटर माथि रोडमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्कापश्चात् शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९, बथानचौडीमा एक जना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा अमाहा बस्ने ७८ वर्षीय जीतबहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ । मगर माघ ६ गतेदेखि हराइरहेकोमा सोमबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा सामुदायिक बनभित्र रहेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । मगरको शव सडी गलिसकेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिका–१३, पान्द्रुङचुलीमा आगोले पोल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्यामराङ बस्ने ४२ वर्षीया ज्ञानुमाया प्रजा रहेको प्रहरीले जानकारी दिएको छ । प्रजा सोमबार दिउँसो २ बजेर ३० मिनेटको समयमा पाखो जंगलमा खर काट्ने क्रममा जंगलमा लागेको आगोले जल्दा गम्भीर घाइते भएकी थिइन् । घाइते प्रजालाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मंगलबार बिहान ४ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।