हेटौँडाः मकवानपुरमा पछिल्लो समय जग्गाको कारोबार घटेको छ । कोभिड–१९ महामारीको समयदेखि सुस्ताएको घरजग्गा कारोबार कोभिड महामारी हटेपनि मौलाउन नसकेको हो ।
घरजग्गा कारोबार घटेसँगै राजस्व संकलनमा पनि गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म मालपोत कार्यालय मकवानपुरबाट भएका जग्गाको कारोबारबाट १५ करोड ७८ लाख ८० हजार ६६२ रुपैयाँ राजस्व आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा साढे ७ करोडले कम रहेको छ ।
मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका र कैलाश गाउँपालिकाको आग्रा र गोङ्टेबाहेकका अन्य स्थानीय तहको जग्गाको कारोबार हुँदै आएको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रजिष्ट्रेशन दस्तुर, राप्ती संरक्षण कोष, न्यायिक दस्तुर रोक्का, सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुर, पुँजीगत लाभकर गरी २ करोड ६३ लाख ७ हजार ४९३ रुपैयाँ राजस्व संकलन गरेको छ ।
भदौ महिनामा २ करोड ४२ लाख ६० हजार ४१५ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले असोज महिनामा ३ करोड ९९ लाख ७२ हजार ८७८ रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, कात्तिकमा १ करोड ३४ लाख ५१ हजार ७८६ रुपैयाँ र मंसिरमा २ करोड ६५ लाख ७५ हजार ४४९ रुपैयाँ राजस्व आम्दानी गरेको मालपोत कार्यालय मकवानपुरले पुस महिनामा २ करोड ७८ लाख ६ हजार ९१ रुपैयाँ राजस्व आम्दानी गरेको हो ।
गत आर्थिक वर्ष २०७९/०८० को साउनदेखि पुससम्मको पहिलो ६ महिनाको अवधिमा कार्यालयले २३ करोड ३६ लाख १ हजार ६३६ रुपैयाँ आम्दानी गरेको थियो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म २६ करोड ६० लाख ७२ हजार ३६९ रुपैयाँ राजस्व आम्दानी गरेको थियो ।
मालपोत कार्यालय राजस्व आम्दानीको एक स्रोत रहेको छ । यस कार्यालयले जग्गाको विभिन्न कारोबारबाट राजस्व आम्दानी गर्दै आएको छ । पछिल्लो समय कार्यालयमा कारोबार घट्दो क्रममा रहेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा ३ करोड २४ लाख ७० हजार ७३३ ले कम राजस्व आम्दानी भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा चालु आर्थिक वर्षमा १० करोड ८१ लाख ९१ हजार ७०७ रुपैयाँले राजस्व कम संकलन भएको छ । पछिल्लो ३ वर्षको राजस्व संकलनको तथ्याङ्क हेर्दा भारी गिरावट भएको देखिएको छ ।
चालु आर्थिक वर्षको केही समय जग्गाको कित्ताकाट बन्द, आर्थिक मन्दीका कारण जग्गाको कारोबार घटेसँगै राजस्व घटेको हो । पहिले मानिसले जग्गा धितो राखी बैंकबाट ऋण लिएर व्यापार व्यवसायमा लगानी गर्दथे भने पछिल्लो समय लगानी गर्ने क्रम पनि घटेको छ । घरजग्गा धितो राखेर बैंकबाट ऋण लिने र घरजग्गा किनबेच दुबै घटको कारण राजस्वमा गिरावट आएको हो ।