हेटौँडाः काभ्रेपलाञ्चोक, रामेछाप र धादिङमा ३ जना मृत भेटिएका छन् । मृत भेटिएका तीनै जनाले आत्महत्या गरेको प्रहरीको अनुमान छ । काभ्रेपलाञ्चोकमा एकजना झुन्डिएको अवस्थामा तथा रामेछाप र धादिङमा २ जनाको शव नजिकै विषादी भेटिएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१, मितिनिछापमा ६० वर्षीया काली घोरासैनी झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आइतबार घोरासैनी आफ्नै घरबाट ५ सय मिटर उत्तरमा रहेको पैयुँको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीमा एकजना पुरुष मृत भेटिएको छ । मृत्यु हुनेमा ५९ वर्षीय सानुकाजी बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ७ बजेको समयमा बुढाथोकी आफ्नै घर नजिकै रहेको गाई गोठ भित्र मृत भेटिएका हुन् । बुढाथोकीको शव नजिकै नुवान नामक विषादी फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–६, कालीदेवीस्थानमा ४१ वर्षीया शर्मिला तामाङको विषादी सेवनबाट मृत्यु भएको छ । माघ ९ गते मंगलबार राती ८ बजेर ३० मिनेटको समयमा तरकारीमा प्रयोग गर्ने बिषादी सेवन गर्दा बिरामी भई उपचारका लागि पाटन अस्पताल ललितपुर लगिएकोमा उपचारको क्रममा बिहीबार राती १० बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । विषादी सेवन गर्नुको कारण नखुलेका प्रहरीले जानकारी दिएको छ ।