फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्ने स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट हुने भएको छ । छैटौं संस्करणको प्रतियोगिता हेटौंडा–१६ स्थित गौरीटार रंगशालामा सञ्चालन गरिने भएको हो ।

मकवानपुर जिल्ला फुटबल संघको बैठकले प्रतियोगिता माघ १६ गतेबाट गौरीटार रंगशालामा गर्ने निर्णय गरेको हो । विगतमा हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना गरिँदै आएको प्रतियोगिता यस वर्ष गौरीटार रंगशालामा गर्ने भएको हो ।

मकवानपुर जिल्लाका स्थानीय तह तथा अन्य संघसंस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि बागमती प्रदेश सरकार, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट पनि सहयोग प्राप्त हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा मकवानपुरसहित करिब १२ वटा टिमको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १५ लाख रुपैयाँ र उपविजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिने भएको छ । गतवर्ष भएको प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । त्रिभुवनले घरेलु टोली विजय युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।