हेटौंडाः हेटौंडा उपमहानगरपालिका–८ ले बालबालिकाका लागि पञ्चवर्षीय आवधिक लगानी योजना किताब बनाएको छ । मंगलबार हेटौंडा–८ का वडा अध्यक्ष राम थापाले उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई योजना किताब हस्तान्तरण गर्नुभएको हो ।

फागुनको पहिलो हप्ता हेटौंडा–८ स्थित चन्द्रोदय माविको चौरमा वडाले बालमैत्री घोषणा गर्ने योजना बनाएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । बालमैत्री घोषणा एक वार्षिक कार्यक्रम रहेको छ । थापाका अनुसार वार्षिक बजेटबाट वडाले बालबालिकाका लागि हरेक वर्ष १२ लाख गरी पाँच वर्षसम्म ६० लाख खर्च गर्ने भएको हो ।

वडाले बालबालिकाका लागि सुविधाअन्तर्गत् खेलकुद, स्वास्थ्य, शिक्षाजस्ता गतिविधिमा लगानी गर्ने भएको थापाले जानकारी दिनुभयो । लामाका अनुसार वडाका अभिभावकहरुलाई सुरुमा कुरा बुझाउन गाह्रो भए पनि अहिले सहज भएको छ । उपमहानगरपालिकामा भएको योजना किताब हस्तान्तरण कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखाकी निर्देशक विष्णुकुमारी लामिछाने, नगर सहजकर्ता सपना ढुंगाना, वडा सहजकर्ता रोजिता दंगाललगायतको उपस्थिति रहेको थापाले बताउनुभयो । अहिले वडा नम्बर ८ मा ३ हजार २ सयभन्दा धेरै बालबालिका रहेका छन् ।