हेटौँडाः सामान्यतः सेवा प्रवेशपछि शिक्षकले परीक्षा दिने व्यवस्था छैन । तर, मकवानपुरको मनहरी गाउँपालिकाले शिक्षककै परीक्षा लिएको छ । पालिकाले लिएको परीक्षामा सहभागी कुनै पनि शिक्षक उत्तीर्ण या अनुत्तीर्ण हुने छैनन् । मनहरी गाउँपालिकाले निजी स्रोतमा कार्यरत पालिकाका शिक्षकको वर्गीकरण गरेर उनीहरुको क्षमता विकासका लागि आवश्यक तालिम सञ्चालन गर्न परीक्षा लिएको जनाएको छ ।
पालिकाका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका ५५ जना शिक्षकको परीक्षा नै लिएर सक्षमता परीक्षण गरिँदैछ । शनिबार मावि र निमावि तहमा कार्यरत २० जना शिक्षकको लिखित र अन्तरवार्ता लिएर सक्षमता परीक्षण गरिएको छ भने आइतबार प्राथमिक तहका शिक्षकको सक्षमता परीक्षणको कार्य हुने मनहरी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभएको छ ।
गाउँपालिकाका स्रोत शिक्षक विदुर थापाका अनुसार निजीस्रोतका शिक्षकको सक्षमता परीक्षण गरी दुई तहमा स्तरीकरण गरेर सोहीअनुसार पूर्ण र आंशिक तालिम प्रदान गरिनेछ । पालिकाले चालु आर्थिक वर्षको बजेटमा शिक्षक अनुदान व्यवस्थापन भनेर बजेट समेत छुट्याएकोले निजी स्रोतका शिक्षकको सुविधामा एकरुपताको विषयमा पनि आवश्यक काम गर्ने उल्लेख गर्नुभएको छ ।
६ जना विज्ञ शिक्षकमार्फत निजी स्रोतका शिक्षकको वर्गीकरण गरी विज्ञ शिक्षककै सुझावका आधारमा क्षमता विकासका लागि आवश्यक तालिमको व्यवस्थापन गरिने शिक्षा शाखा प्रमुख पराजुलीले स्पष्ट पार्नुभएको छ । निजी स्रोतका शिक्षकको क्षमता विकासका लागि लिइएको परक्षामा मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक अनन्त प्रकाश अर्यालले पनि अवलोकन गर्नुभएको छ ।