हेटौंडाः हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिताअन्तर्गत् शनिबार साँझसम्ममा सातौं चरणको खेल सम्पन्न भएको छ । प्रतियोगिताको संयोजक धरम लामाका अनुसार सातौं चरणको खेल सम्पन्न हुँदा भारतीय खेलाडी शुभयान र बंगलादेशी खेलाडी मिनहाज अग्रस्थानमा छन् ।

प्रतियोगितामा भारतीय २ हजार ३ सय ९३ रेटेड शीर्ष खेलाडी शुभयानले भारतकै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटीबाट खेल आरम्भ गरेका थिए । उक्त खेलमा राहुलले छैटौं चालअन्तर्गत् बिसप डी सिक्स चाल्दै सानो गल्ती गर्न पुगे । जसको फाइदा लिँदै शुभयानले सोह्रौं चालभित्र छिटो खेल आफ्नो पक्षमा लिन सफल भए ।

शुभयानले सात चरणमा पाँच जित र दुई बराबर गर्दै ६ अंकका साथ अग्रस्थानमा छन् । आठौं चरणको खेलमा उनले बंगलादेशी २ हजार १ सय ९३ रेटेड एफ अहमद शेख नासिरसंँग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामार्फत् ७ रेटिङ वृद्धि गर्दै अन्तर्राष्ट्रिय आईएम उपाधि प्राप्त गर्ने लक्ष्य रहेकोे उनले बताए ।

शनिबार सम्पन्न दोश्रो बोर्डमा २ हजार २ सय १७ रेटेड बंगलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १ हजार ९ सय ७६ रेटेड खेलाडी एएफएम सौरव चौबेमाथि कठिन जीत दर्ता गर्दै ६ अंकका साथ संयुक्त अग्रस्थानमा उभिन सफल बने । आईएम मिनहाजले ओपन सिसिलियन भारिएसन इफोसी सिक्स, नाइट एफथ्री नाइट एफसिक्सबाट खेल सुरु गर्दै ४२ औं चालमा चलाखी गर्दै पाउन अप गरे । उपाधिका लागि जित्नै पर्ने आठाँै चरणको अर्को खेल उनकै समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसंँग कालो गोटी लिएर खेल्नेछन् ।

प्रतियोगितामा बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्टक्के, अरबिन्दर प्रित सिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै सामूहिक दोश्रो स्थानमा सुरक्षित रहन सफल भएका छन् । आठौँ चरणको खेलमा नयन हकले अबु शेखसँग, अमरदीपले अरबन्दर प्रितसँग, नासिर शेखले शुभयानसंँग र सरिफ होसेनले मिनहाजसँग प्रतिस्पर्धा गर्नेछन् ।

खेलमा एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडी पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर नेपाली खेलाडी मध्येबाट अगाडि रहन तछाडमछाड गरिरहेका छन् । उनीहरुसँगै पूर्व नेपाल च्याम्पियन फिडे मास्टर पुरुषोत्तम चौलागाई, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गर्दै खेलिरहेका छन् ।

यस्तै, भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनी रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन् । नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन् ।

प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने द्वितीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, तृतीय हुनेले ४० हजार रुपैयाँ, चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौं हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । छैटौँदेखि १० औँ स्थानमा रहनेलाई प्रतिखेलाडी १५ हजार रुपैयाँ र ११ औँदेखि १५ औं हुने खेलाडीहरुले जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।