हेटौँडाः चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मारेर खाग चोरी गरेको अभियोगमा मकवानपुरका ४ जनासहित ८ जनालाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ । निकुञ्जभित्रै खाल्डो बनाएर गैँडालाई फसाएपछि खाग चोरी गरेपछि गैँडा मरेको अवस्थामा गत कात्तिक ३० गते फेला परेको थियो ।
निकुञ्जको कार्यालयले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा–३, लेवटका ३३ वर्षीय रमेश खाती, मनहरी गाउँपालिका–६, नयाँबस्तीका ५६ वर्षीय सिताराम थिङ, राक्सीराङ गाउँपालिका–९ घर भई हेटौंडा–४ बस्ने ४४ वर्षीय समशेर थिङ, मनहरी गाउँपालिका घर भई चितवन बाँदरझुला बस्ने ५६ वर्षीय इन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । यस्तै चितवन जिल्लाको राप्ती नगरापलिका–११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा जिल्ला घर भई हेटौंडा–५ बस्ने २८ वर्षीय अर्जुन रोका, गोरखा जिल्लाको बारपाक घर भई भरतपुर महानगरपालिका–११, लामा टोल बस्ने ७७ वर्षीय धनबहादुर गुरूङ र चितवन जिल्लाको राप्ती नगरपालिवका–११ कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तानलाई पनि पक्राउ गरिएको जनाएको छ ।
निकुञ्ज कार्यालयले गैंडाको खाग समेत बरामद गरेको जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानाको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा रमेश खाती गत गत शनिबार राप्ती–९ बाट पक्राउ गरिएको जानकारी दिएको छ । रमेश मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । गैंडा मार्ने योजनाकार सिताराम थिङ र समशेर थिङलाई पनि राप्ती–६ बाटै समातिएका हुन् । गैंडाको खाग पनि राप्ती–६ मै फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।
उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनको म्याद दिएको निकुञ्जका सुचना अधिकारी रहेका गणेशप्रसाद तिवारीले बताए । उनीहरूलाई अनुसन्धान गरी मुद्दा चलाउन ४५ दिनसम्मको समय पाइन्छ । गैंडा मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयाँसम्म कैद र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।