कोरियामा प्रवासी नेपाली एकता मञ्चका अध्यक्षसहितका नेपालीले नगरप्रमुख लामालाई स्वागत गर्दै ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा दक्षिण कोरिया पुग्नुभएको छ । आठौं एसिया प्रशाान्तको सहरी मञ्च (एपियुएफ) को बैठकमा सहभागी हुन नगर प्रमुख लामा शनिबार बिहान कोरिया पुग्नु भएको छ । शुक्रबार साँझ काठमाडौंबाट नगरप्रमुख लामा कोरिया प्रस्थान गर्नुभएको हो ।

नगरप्रमुख लामालाई कोरियामा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शुभराज भोम्जनसहित प्रवासी नेपालीले स्वागत गरेका छन् । प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष भोम्जन मकवानपुरको मकवानपुरगढीका स्थायीबासी हुनुहुन्छ । सोमबारदेखि बुधबारसम्म कोरियामा हुने एसिया प्रशान्तको सहरी मञ्चको आठौं सम्मेलनमा सहभागी हुन हेटौँडा उपमहानगरपालिकाकी प्रमुखसँगै नेपालका ४ वटा नगरका प्रमुख कोरिया पुगेका छन् । नगरप्रमुख लामा आगामी शुक्रबार नेपाल फर्कने कार्यतालिका रहेको छ ।

कोभिड महामारीपछि एसिया प्रशान्त क्षेत्र र समग्र एसिया महादेशका सहरी क्षेत्रको दीगो विकासका लागि सहयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सम्मेलनको आयोजना गरिएको बताइएको छ । सम्मेलनमा सहभागीलाई आइतबार कोरियाली सहरको अवलोकन गराउने कार्यतालिका छ भने त्यसपछिका ३ दिनमा सहरी विकास योजना, सहरको डिजिटलाइजेसन, समावेशी सहरको डिजिटलाइजेसन, सहरी अनुकुल मौसकका लागि चालिने कदम, सहरी अर्थका विषयमा छलफल हुनेछ ।

विदेश जानुअघि नगरप्रमुख लामाले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख राजेश बानियाँलाई दिनुभएको छ । नगरप्रमुख लामाले उपप्रमुख बानियाँलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएर जानुभएको कर्मचारीमार्फत जानकारी प्राप्त भएको नगरउप्रमुख बानियाँले बताउनुभयो । नगरउपप्रमुख बानियाँले भन्नुभयो, “नगरप्रहरीले फुलपातीको अवसरमा आयोजना गरेको पुजामा सहभागी हुने क्रममा शनिबार बिहान मात्रै कार्यवाहक नगरप्रमुखको जिम्मेवारी प्राप्त भएको भनी कर्मचारीमार्फत थाहा पाएँ ।”

नगरप्रमुख लामासँगै हेटौँडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा. कृष्ण धिताल पनि कोरिया पुग्नुभएको छ । नगरप्रमुख लामाको आउने–जाने, कोरियामा रहँदा आवास तथा खानाको व्यवस्था आयोजकले गरेको छ भने विज्ञ सल्लाहकार आफ्नो व्यक्तिगत खर्चमै कोरिया जानुभएको नगरपालिकाका अधिकारीले जनाएका छन् ।