महेश कुमार बर्तौला

हेटौंडाः प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले शिक्षकहरुले उठाएका न्यायोचित मागलाई सरकारले अनदेखा गर्न नपाउने बताउनुभएको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलनमार्फत् उठाएका अधिकांश मागहरु उपयुक्त रहेको उहाँले बताउनुभएको हो ।

‘शिक्षकहरुले उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षाप्रति नागरिकको भरोसा, विश्वसनियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिन्छ’, सचेतक बर्तौलाले भन्नुभयो– ‘एउटा सांसद हुँदाको नाताले विधेयकभित्र बसेर उपयुुक्त कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुने र भूमिका निर्वाह गर्ने विषय त बाँकी छँदैछ, तर पनि नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई विधेयकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्दछ ।’ शिक्षक महासंघले उठाएका मागमा सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ भन्ने माग पनि बर्तौलाले गर्नुभएको छ ।

महासंघले अघि सारेका संविधानसँग जोडिएका कतिपय विषयवस्तुहरुका बारेमा भने थप छलफल र बहसको आवश्यकता रहेको उहाँको भनाइ छ । निजामती सेवामा जस्तै शिक्षक सेवामा पनि समान सेवा सुविधाको व्यवस्था हुनुपर्ने, शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई वर्षमा कम्तिमा एक पटक शैक्षिक अवलोकन भ्रमणको व्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकहरुलाई अध्ययन बिदाको सुविधा हुनुपर्ने, शिक्षकहरुलाई सरकारी मर्यादाक्रममा समावेश गरिनुपर्ने, शिक्षकहरुका लागि अलग्गै शिक्षक अस्पतालको स्थापना हुनुपर्नेमा माग उचित रहेको सचेतक बर्तौलाले बताउनुभयो ।

शिक्षकको योग्यता आधारभूत र माध्यमिकका लागि क्रमशः स्नातक र स्नातकोत्तर तोक्ने हो भने आधारभूत तृतीयलाई अधिकृत र माध्यमिक तृतीयलाई उपसचिव सरहको सेवा सुविधा हुनुपर्ने, स्थायी शिक्षकलाई नियमितरुपमा तह /श्रेणी बढुवाको सुनिश्चितता गरिनुपर्ने, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवाका लागि प्रत्येक तह र श्रेणीमा ५ वर्षे सेवा अवधि तोक्नुपर्ने, विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई कम्तीमा एक पटकका लागि खुला तथा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी हुने अवसर प्रदान गर्नुपर्ने र उपदानको व्यवस्था हुनुपर्नेलगायतका नेपाल शिक्षक महासंघको मागहरु उपयुक्त, जायज र न्यायसंगत रहेको उहाँले बताउनुभयो । ‘यी मागहरुले शिक्षकहरुको मात्रै हित गर्दैन, यसले त समग्र सार्वजनिक शिक्षाकै उज्यालो भविष्यका लागि नयाँ आयाम निर्माण गर्नेछ’, सचेतक बर्तौलाले भन्नुभयो– ‘त्यसैले नेपाल शिक्षक महासंघको आन्दोलन र उहाँहरुद्वारा उठाइएका मागहरुप्रति समर्थन र एक्येवद्धता रहेको छ ।’

एमाले सचेतक बर्तौलाले विद्यार्थीहरुको पढ्न पाउने अधिकारप्रति पनि नेपाल शिक्षक महासंघले ध्यान पुर्याउन आग्रह गर्नुभएको छ । शिक्षकहरुसँग तत्काल वार्ता आरम्भ गरी समस्या समाधान गर्नसमेत उहाँले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।