सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार हेटौँडाको विभिन्न स्थानबाट उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, नेवारपानीमा शुक्रबार बिहान ४ बजेको समयमा प्रहरी सहायक निरीक्षक कृष्णकान्त न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च २५२५ नम्बरको पिकअप गाडी रोकी सुरक्षाजाँच गर्दा गाडीमा लुकाएर ल्याएको ४१ किलो ३ सय ग्राम गाँजा फेला पारी एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–११ का २७ वर्षीय नारायण साह गुण रहेको प्रहरीले जनाएको छ ।

यस्तै, शुक्रबार बिहान ८ बजेको समयमा पूर्वपश्चिम राजमागअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७५८ नम्बरको बसलाई रोकेर सुरक्षाजाँच गर्दा बसमा सवार पर्साको बहुद्रामाई नगरपालिका–६ का ४७ वर्षीय हिरालाल साह र बाराको बस्तिपुरका ४८ वर्षीय धुरन साहलाई लागुऔषधसहित पक्राउ गरेको छ । दुवै जनालाई शंका लागेर सुरक्षाजाँच गर्दा उनीहरुले बोकेको झोलाभित्र ५ किलो गाँजा फेला परेको जनाएको छ । लागुऔषसहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।