हेटौँडाः हेटौँडा अस्पतालमा मातृशिशु सेवा भवन निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले ८० लाख रुपैयाँ दिने भएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिका र हेटौँडा अस्पताल व्यवस्थापन तथा विकास समितिबीच सहयोग हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मातृशिशु स्वास्थ्य सेवालाई विस्तार गर्ने गरी हेटौँडा उपमहानगरपालिकाले हेटौँडा अस्पताललाई सहयोग गरेको हो । यसअघि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले छुट्टै मातृशिशु अस्पताल सञ्चालन गर्ने बताउँदै आउनुभएको थियो । छुट्टै मातृशिशु अस्पताल सञ्चालन सम्भव नहुने नदेखेपछि उपमहानगरले हेटौँडा अस्पतालको मातृशिशु स्वास्थ्य सेवामै सहयोग गरी सेवा विस्तारको प्रयास गर्न लागेको हो ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको सचिवालयले हेटौँडा अस्पताल र हेटौँडा उपमहानगरपालिकाबीच मंगलबार मातृशिशु स्वास्थ्य सेवा विस्तारसम्बन्धी सम्झौता भएको जानकारी गराएको छ । हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराउने ८० लाख रुपैयाँबाट चालु आर्थिक वर्षको चैत महिनाभित्रै भवन निर्माणको कार्य पूरा गर्नुपर्नेछ । हेटौँडा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रसाईँ र उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण साहले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।