नियन्त्रणमा लिएको कपडा, ट्रक र प्रतिबन्धित औषधी

हेटौँडाः हेटौँडा औद्योगिक क्षेत्रस्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणले प्रतिबन्धित औषधीसहित ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट प्रतिबन्धित औषधी, ट्रक चालक काभ्रे देउपुर नगरपालिकाका–९, मन्डनका ५० वर्षीय ज्ञानेन्द्र कुमार सापकोटा र ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मकवानपुर १४ नम्बर गणका प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीले जानकारी दिनुभयो ।

बुधबार राती १२ बजेको समयमा रातोमाटेचेक पोष्टबाट प्रहरीले बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबाहक कन्टेनर ट्रक रोकी सुरक्षाजाँच गर्दा फरक बिल पाइएको कार्कीले बताउनुभयो । प्रहरीले ट्रकको चाबी नियन्त्रणमा लिने क्रममा ट्रक चालक सापकोटाले केही वस्तुहरु ट्रकको क्याविनबाट झाडीमा फाली भाग्ने प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले ट्रकबाट १४ लाख ४७ हजार बराबरको कपडा, ७ काटुन (१ लाख ३१ हजार ७ सय ६० ट्यावलेट) प्रतिबन्धित औषधी ट्रामाडोल, म्याद सकिएको मल्टी भिटामिन फेला परेको उहाँले बताउनुभयो । उक्त औषधीसहित चालकलाई नियन्त्रणमा लिई कार्वाहीकोे प्रक्रिया अगाडि बढाइने कार्कीले जानकारी दिनुभएको छ ।