राष्ट्रिय माविको प्रधानाध्यापक नियुक्त हुनुभएकी लालुमाया चेपाङ ।

हेटौंडाः मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–६ स्थित सिलिङ्गे राष्ट्रिय माध्यमिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरिएको छ । सोमबार लालुमाया चेपाङ विद्यालयको नयाँ प्रधानाध्यापक चयन हुनुभएको हो ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको निर्णयअनुसार चेपाङलाई प्रधानाध्यापक नियुक्ति गरिएको बताइएको छ । हाल प्रधानाध्यापक चयन हुनुभएकी चेपाङ विगत् आठ वर्षदेखि सोही विद्यालयमा शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

विद्यालयका शिक्षकमध्ये आफू पेसाप्रति लगनशील र अनुभवी रहेको प्रधानाध्यापक चेपाङले बताउनुभयो । लामो समयदेखि विद्यालयमा कार्यरत रहेको र विद्यालयका गतिविधिमा उत्कृष्ट कार्य गरेकाले आफूलाई प्रधानाध्यापक बनाइएको उहाँले जानकारी दिनुभयो ।

विद्यालय निकै विकट ठाउँमा रहेकाले भौतिकलगायत थुप्रै शैक्षिक कठिनाई रहेको प्रधानाध्यापक चेपाङको भनाइ छ । विद्यालयमा अध्यनरत सात सय विद्यार्थीका लागि पर्याप्त कक्षाकोठा रहेको तर त्यसको उचित मर्मत हुन बाँकी रहेको उहाँले बताउनुभयो । ग्रामीण भेग भएकाले स्रोत साधनको पहुँचबाट विद्यार्थीहरु टाढा हुनुका साथै अतिरिक्त क्रियाकलापका लागि पनि विद्यार्थीको सक्रियता कम रहेको उहाँले जानकारी दिनुभयो ।

विद्यालयमा खानेपानी, विद्युत्लगायत अत्यावश्यक सुविधाकै समस्या टड्कारो रहेको प्रधानाध्यापक चेपाङले जानकारी दिनुभयो । पानीको समस्याले शौचालय पनि फोहोर हुने, विद्यार्थीले जथाभावी शौचालय बस्नेजस्ता समस्याबाट विद्यालय लामो समयदेखि गुज्रिरहेको उहाँको भनाई छ । बाढी, पहिरोजस्ता प्राकृतिक प्रतिकूलताका कारण वर्षामा विद्यालय बन्द गर्नुपर्ने भएकाले विद्यार्थीको शैक्षिक गुणस्तर खस्कने गरेको उहाँले जानकारी दिनुभयो । विविध समस्या र कठिनाईलाई पार लगाउँदै विद्यालय, विद्यार्थी एवम् स्थानीयको मुहार फेर्न अटुट र अब्बल प्रयत्न गर्ने प्रधानाध्यापक चेपाङले बताउनुभयो ।