शिक्षक, कर्मचारीको विदाईपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः विभिन्न समयमा विद्यालयमा सेवा गरी अनिवार्य अवकास पाएका, अन्यत्र विद्यालय सरुवा भएका, स्थायी नियुक्ति पाएका, निजामति सेवामा प्रवेश गरेका र स्वेच्छिक अवकास लिएका १५ जना शिक्षक र कर्मचारीलाई हेटौँडा–६, गौरिटारस्थित बालजागृति युवा बर्ष माविले एकसाथ विदाई गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच शिक्षक तथा कर्मचारीलाई विदाई गरेको प्रधानाध्यापक सम्झना अधिकारीले जानकारी दिनुभएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार तिमल्सिनाको अध्यक्षता तथा वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १ कक्षादेखि ८ कक्षासम्म अध्ययन गर्ने छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति रकम पनि वितरण गरिएको थियो । विद्यालयको शैक्षिक वातावरण निर्माणमा रचनात्मक गतिविधि गर्दै आएको विद्यालयले कक्षाकोठामा किताबको कुनो बनाउने तयारी गरिरहेको विद्यालयकी प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।

विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै वडा अध्यक्ष विष्णुबहादुर दाहाल ।

हरेक शुक्रबार विद्यार्थीबीच वौद्धिक एवम् शैक्षिक प्रतिस्पर्धा एवम् विद्यार्थीको व्यक्तित्व विकासका क्रियालाप पनि गर्दै आएको छ । यसअघि सम्पन्न म्युजिकल चेयर, अंग्रेजी, नेपाली हस्तलेखन, गणित दौडलगायतका क्रियाकलापमा राम्रो नतीजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।