हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुरले सञ्चालन गरेको रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मार्फत् दुई महिनामा झण्डै एक हजार जनाले रक्तदान गरेका छन् । विभिन्न संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमसमेतबाट दुई महिनामा ९ सय ८३ जनाले रक्तदान गरेका हुन् ।
बैशाख र जेठ दुई महिनामा ९ सय ८३ जना रक्तदाता पुगेको हेटौंडा ब्लड बैंकका प्राविधिक किशोर सापकोटाले बताउनुभयो । बैशाखमा ४ सय ४५ जनाले रक्तदान गरेका छन् । १७ वटा रक्तदान कार्यक्रमबाट ५३ महिला र ३ सय ९३ पुरुषले रक्तदान गरेका हुन् । त्यस्तै, जेठमा ५ सय ३८ जनाले रक्तदान गरेका छन् । १३ वटा रक्तदान कार्यक्रमबाट १ सय १५ महिला र ४ सय २३ पुरुषले रक्तदान गरेको सापकोटाले जानकारी दिनुभयो ।
अहिलेको सबैभन्दा धेरै रक्तसंकलन जेठ महिनामा रक्तदान कार्यक्रमको बेलामा भएको छ । श्री विश्व सुसमाचार समाज पर्र्मेश्वर मण्डली, हेटौंडा–९ ले गरेको रक्तदान कार्यक्रममा एकैदिन १ सय ५८ जनाले रक्तदान गरेको सापकोटाले बताउनुभयो ।
रक्तसञ्चार केन्द्रमा नेगेटिभ रगतबाहेक सबै प्रकारका रगत स्टक रहेको छ । सापकोटाका अनुसार पहिलाको समयभन्दा अहिले केन्द्रमै आएर रक्तदान गर्नेको संख्या र कम भइरहेको छ ।










