हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा करिब ४ अर्ब बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेशसभामा सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रका लागि ४ अर्ब ७ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।
२०८० असारबाट लागू हुने बजेटमा स्वास्थ्य क्षेत्रका कार्यक्रममा बजेट बाँडफाँड गरिएको छ । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र स्वास्थ्य चिकित्सकको उच्च मनोबल निर्माण गरेर स्वास्थ्यमा सुधार गर्दै लगिने बजेट बक्तव्यमा उल्लेख छ । दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीलाइ सेवा दिन उत्प्रेरणा गरिने लामाले बताउनुभयो ।
‘बागमती प्रदेशः स्वस्थ प्रदेश’ भन्ने नाराका साथ मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम लागू गर्न बजेट व्यवस्था गरिएको छ । क्यान्सर, मुटुरोग, मधुमेयजस्ता नसर्ने रोगको उपचारको रकम धेरै भएर धेरैले ज्यान गुमाएका कारण प्रदेशका अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र तथा स्थानीय तहका स्वास्थ्य संस्थामार्फत २ हजार २ सय ५० रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको लामाले जानकारी दिनुभयो ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमका लागि ६ करोड, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ करोड ३२ लाख र प्रदेश अन्तर्गत्का अस्पतालहरुको भवन निर्माण गर्न १३ करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आगामी वर्षदेखि स्नातकोत्तर अध्ययन तथा अध्यापन सुरु गरिने भएको छ । ‘एक माध्यमिक विद्यालयः एक नर्स’ कार्यक्रमलाई कक्षा १२ सम्म अध्यापन गराउने सबै विद्यालयमा विस्तार गर्दै उक्त कार्यक्रमका लागि ३० करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
डेङ्गुलगायत महामारीजन्य सरुवा रोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । गर्भवती महिलाको जोखिमयुक्त गर्भको पहिचान गर्न सञ्चालित भिडियो एक्सरे सेवा विस्तार गर्न बजेट विनियोजन गरिएको छ । ३ वटा अस्पतालमा सिटी स्क्यान र ममोग्राफी मेशिन जडान गरिने बजेटमा उल्लेख छ ।
बागमती प्रदेशभित्र एम्बुलेन्स सेवालाई एकीकृतरुपमा सञ्चालन गर्न एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गरी निःशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याइने भएको छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्दारका लागि निःशुल्क हवाइ सेवा उपयोग गर्ने व्यवस्था मिलाइने भएको छ ।










