हेटौंडाः हेटौंडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई बिहीबार शैक्षिक सामग्री सहयोग गरिएको छ । सामाजिक अभियन्ता राजु अधिकारी र रिमा अधिकारी दम्पतीले विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई विद्यालय पोशाक, कापी, कलम, जुत्ता, ज्योमेट्री बक्स सहयोग गर्नुभएको हो ।
३ महिनाअघि विद्यालयमा आयोजना गरिएको छात्रवृत्ति वितरण कार्यक्रममा आफूले वार्षिक रुपमा लाग्ने शैक्षिक शुल्कदेखि पोशाक र स्टेशनरी सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको अधिकारीले जानकारी दिनुभयो । सोहीअनुरुप प्रतिविद्यार्थी ६ हजार रुपैयाँको शैक्षिक सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो ।
सन्ध्या तिमल्सिना, योगेश पुलामी, भूमिका थिङ, सिम्रनकुमारी साह र आशीष मुक्तानलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । नयाँ भर्ना हुन आएका विद्यार्थीमध्ये ५ जनालाई सहयोग गरिएको हो ।
३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा विद्यार्थी संख्या बढाउन तथा विद्यार्थीलाई आकर्षण गर्ने उद्देश्यले उक्त सहयोग गरिएको अधिकारीको भनाई छ । सहयोग पाएका विद्यार्थीले पढाइलाई निरन्तरता दिएर राम्रोसँग पढे उक्त सहयोगलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण थापाको सभाध्यक्ष तथा हेटौंडा–७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य सन्तुमाया पाख्रिनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि पाख्रिनले जनप्रतिनिधिले पनि उक्त अभियानलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र दाहाललगायतको उपस्थिति थियो ।