हेटौंडाः हेटौंडा–१५ तेस्रो संस्करणको हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा १४ नम्बर वडालाई सडेनडेथमा १–० गोलअन्तरले हराउँदै १५ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडेनडेथबाट लिइएको हो । निर्धारित खेल समयमा १४ नम्बरका तर्फबाट उमेश गोङ्बा र १५ नम्बरको तर्फबाट सन्तबहादुर घलेले एक–एक गोल गरेका थिए । दुबै गोल खेलको हाफपछि भएको थियो । खेलको म्यान अफ द म्याच १४ नम्बरका गोलरक्षक अस्मिर गोङ्बा घोषित भए ।
जीतसँगै १५ नम्बरले अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि ११ नम्बर र १३ नम्बर वडाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलको खेल आज बिहीबार हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।