हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न भनी सरकारले लकडाउन घोषणा गरेपछि चैतको अन्तिम साता हेटौंडा उपमहानगरपालिकाले कार्यविधि नै बनाएर वडा–वडामा राहत वितरण गर्यो । पहिलो चरणको राहत वितरणका क्रममा वडाहरुले एकै दिन तीन सय भन्दा बढी परिवारलाई राहत सामग्री वितरण गर्यो । लकडाउन लम्बिँदै जाँदा उपमहानगरपालिकाले दोहोर्याएर राहत वितरण नगर्ने निश्कर्ष निकाल्यो । तर, वडामा राहत वितरणका लागि दबाव बढिनै रह्यो । यसै मेसोमा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाले भने राहत माग्न आउनेलाई काममा लगाउने योजना बनायो । काम गरे मात्रै राहत पाउने भनेपछि अहिले राहत माग्न आउने न्यून संख्यामा छन् ।
पहिलो चरणमा चैत अन्तिम साता एकैदिन तीन सय घरलाई राहत वितरण गरेको जानकारी दिनुहुँदै हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सदस्य रामचन्द्र न्यौपानेले भन्नुभयो, ‘काम गरे मात्रै राहत भनेपछि थोरै संख्यामा मात्रै राहत माग्न आउने गरेका छन् ।’ गत शुक्रबारदेखि काम गर्नेलाई मात्रै राहत दिने कार्य सुरु भएदेखि आज बुधबारसम्म करिब ५० जनाले मात्रै राहत माग्न आएको न्यौपानेले बताउनुभयो । वडाले अशक्त अवस्थाका व्यक्ति वा परिवारलाई भने काम गर्न अनिवार्य गरेको छैन ।
वडाले बृद्ध, बालबालिका, अपाङ्ग लगायतका मानिस राहत लिन आएमा राहत दिने तर काम गर्न सक्ने मान्छेलाई सार्वजनिक स्थलहरुमा काम गर्न लगाउने गरेको वडा नम्बर ११ नवलपुरका वडा अध्यक्ष गोकर्ण पराजुलीले जानकारी दिनुभयो । राहत प्याकेटमा १५ किलो चामल, ५ किलो आँटा, डेढ किलो चिनी, डेढ किलो दाल, २ पिस साबुन र १ प्याकेट नुन गरी १३ सय रुपैयाँ बराबरको सामग्री प्याक गरिएको छ । वडामा रहेको विद्यालय, मन्दिर, बाटो लगायतका स्थानमा काम गर्न लगाइएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
यसरी काम गरेर राहत पाउने व्यवस्था मिलाएपछि राहतको आवश्यक नहुँदा पनि राहत लिन आउनेहरुको कमि भएको र वास्तविक पीडितले मात्रै राहत पाएको वडा अध्यक्ष गोकर्ण पराजुलीको भनाइ छ । आउँदा दिनमा पनि लकडाउनले गर्दा कामबाट बन्चित भएका र खाद्यान्न सकिएकाहरुलाई कामको व्यवस्था मिलाएर राहत प्याकेज प्रदान गर्ने बताउनुभयो । वडा कार्यालयले वडा भित्रका टोल विकास संस्थाको सिफारिसमा राहतका लागि काम चाहिने व्यक्तिको सिफारिस गर्ने गरेको छ ।