हेटौंडाः मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलबार बेलुका ७ बजे बकैया–१२, खोरभञ्ज्याङस्थित भित्र कच्चि सडकखण्डमा ना ८ ख ५३३५ नम्वरको टिपर आफै अनियन्त्रित भई सडकबाट ९ सय मिटर तल जङ्गलको खोल्सामा खसी दुर्घटना भएको थियो ।
दुर्घटनामा टिपर चालक मकवानपुरगढी–२, अदुवाखर्कका २८ बर्षीय चन्द्र योन्जनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिनुभयो । टिपर शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गाखानिमा ढुङ्गा लोड गर्न जाँदै गरेको प्रहरीले जनाएको छ । टिपरमा चालक मात्र रहेको प्रहरीको भनाइ छ । घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्काका लागि प्रहरी टोली खटाइएको डीएसपी कार्कीले जानकारी दिनुभयो ।
यसैगरी बुधबार बिहान करिब ६ बजे हेटौंडा–११ थानाभर्याङमा ट्रकले ठक्कर दिँदा ४० बर्षीया एक महिलाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको ट्रकको ठक्करबाट गम्भिर घाइते महिलालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा अस्पताल पुग्नेवित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । मंगोलियन अनुहार भएकोे मृतक महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।