हेटौंडाः मकवानपुर क्रिकेट टिम बारा जिल्लाको कलैयामा जारी कलैया टी–२० मेयर कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजक कलैयालाई ३७ रनले हराउँदै मकवानपुर फाइनल प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । मकवानपुरका लागि शुभ कंशाकारले शतकीय पारी खेले । उनले ५७ बलमा १ सय २३ रन बनाए । खेलको म्यान अफ द म्याच कंशाकार घोषित भए । मकवानपुरका कप्तान सुमन सुनारले १९ बलमा १७ रन बनाए । यस्तै, गौरव खड्काले १० बलमा १४ रन बनाए । मकवानपुरका लागि बलिङतर्फ रिजन ढकाल र आशीष पोखरेलले समान ३–३ विकेट लिए भने विशाल फुयाँलले २ विकेट लिए ।
कलैयाले १९.३ ओभरमा अलआउट हुँदै १ सय ६० रनमात्र बनायो । मकवानपुरले शनिबार हुने फाइनल खेलमा पर्साको वीरगञ्जसँग उपाधिका लागि खेल्नेछ । यसअघि वीरगञ्जलाई मकवानपुरले समूह चरणमा हराएको थियो भने सुरुको खेलमा भारतको बेतिया जिल्लालाई ५२ रनले हराएको थियो । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।