समर्पण न्यौपाने र ऋत्विक केबी ।

विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाका अधिकांश अभिभावक आफ्ना बालबालिकाले पढ्न, लेख्न नसकेको गुनासो गर्ने गरेका छन् । आफ्ना बालबालिका नियमित विद्यालय जाने, अध्ययन गर्ने, घरमा रहँदा पनि अध्ययन गरिरहेको, गृहकार्य गरिरहेको हेर्न चाहने अभिभावकका लागि केही विद्यार्थी आदर्श र प्रतिनिधि विद्यार्थीका रुपमा हुन्छन् । ऋत्विक र समर्पण जस्ता विद्यार्थी विद्यालयका पुस्तक पढ्ने, गृहकार्य गर्ने मात्रै नभई पुस्तकाकार कृति नै प्रकाशन गर्न सफल छन् । हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत ऋत्विक र हेटौंडा–५ स्थित जीएस निकेतनमा कक्षा ९ मा अध्ययनरत समर्पणसँग कृति प्रकाशन तथा औपचारिक शिक्षासम्बन्धमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः ऋत्विकको ‘कोरिएका धर्साहरु’ कृति प्रकाशन अगाडि र प्रकाशनपछिको अनुभव कस्तो रह्यो ?
ऋत्विकः
मैले कक्षा ९ मा अध्ययन गरेदेखिनै कविता लेख्न थालेको थिएँ । मेरो कविता संग्रह ‘कोरिएका धर्साहरु’ मा मैले २४ वटा कविताहरु राखेको छु । यो संग्रहको कभर तथा हरेक कविताहरुको आफ्नै फरक कथा रहेका छन् । कृति प्रकाशनपछि, यति सानै उमेरमा कृति प्रकाशन गर्न सकेकोमा सम्पूर्ण साथीभाई, अभिभावक, शिक्षकहरु लगायत आफन्तहरुबाट हौसला र माया पाएँ ।

समाजः समर्पणले कृति सार्वजनिक भएपछि कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
समर्पणः
ऋत्विक दाइले जस्तो मैले कविता कस्तो हुन्छ, के हुन्छ भनेर पहिल्यै डिजाइन गरेर लेखेको कविताहरु होइनन् । यी कविताहरु मेरो किशोर अवस्थाका भाव तथा विचारहरुको संकलन हो । मैले लेखेको सबै कविताहरु यो कृतिमा अटाउन सकेन । कविताहरु धेरै छाँटकाँट भयो । केही कविताहरु भाव तथा विचार नमिलेर यो कृतिबाट हटाउनुप¥यो । मेरो सबै अग्रजहरुको हौसला र सहयोगले नै मैलै यो कृति प्रकाशन गर्न सफल भएँ । केही पारिवारिक समस्याका कारण विमोचनमा ढिलाइ भए तापनि हामीले सभ्य र भव्य विमोचन कार्यक्रम पनि ग¥यौं । यसपछि पनि म धेरै कार्यक्रमहरुमा सहभागी भइरहँदा सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु ।

समाजः कृति प्रकाशनले औपचारिक शिक्षालाई कस्तो प्रभाव परिरहेको छ ?
समर्पणः
कविता लेखनले मेरो औपचारिक शिक्षामा नकारात्मक प्रभाव परेको छैैन । अझ मेरो भाषा साहित्यको अध्ययनले गर्दा मेरो सिर्जनात्मक लेखनलाई अझ सुदृढ पार्न सहयोग पुगेको छ । सोधीखोजी अध्ययन गर्ने बानीले गर्दा अझ मेरो अरु प्राविधिक विषयहरुमा पनि सकारात्मक प्रभाव परिरहेकोे महसुस मैले गरेको छु ।

समाजः साहित्यको अध्ययन र सिर्जना गरिरहँदा के–के कुराले गर्दा औपचारिक शिक्षालाई सकारात्मक प्रभाव परेको महसुस गर्नुभएको छ ?
समर्पणः
एउटा राम्रो साहित्य सिर्जना गर्नका लागि राम्रा–राम्रा पुस्तकहरु पढ्नुपर्छ । इतिहास खोतल्नुपर्छ र भविष्य बनाउन एउटा जोस जाँगर पनि हुनुपर्दछ । समाज अध्ययन गर्ने एउटा चेतना पनि हुनुपर्दछ । यस्ता चेतनाहरुले हाम्रो विभिन्न विषयमा प्रभाव पारिरहेका हुन्छन् । समाजलाई अध्ययन गर्ने छुट्टै दृष्टिकोणले गर्दा समाजसँग सम्बन्धित विभिन्न विषयहरुमा सकारात्मक प्रभाव पार्दछ । प्रविधि तथा विज्ञानका अध्ययनले गर्दा विज्ञान विषयमा राम्रो प्रभाव पर्दछ । विशेषगरी साहित्यमा भाषा साहित्यको अध्ययनले गर्दा भाषालाई पनि सकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

समाजः साहित्य सिर्जनासँगै विद्यालयको पाठ्यक्रमको नियमित पठनपाठन, विद्यालयको समय र घरको समयलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
ऋत्विकः
मानिसलाई केही कुरा गर्न रहर छ भने उसले जस्तोसुकै अवस्थामा पनि समय व्यवस्थापन गरेर उक्त काम गर्न सक्छ । यस्तै, साहित्य रचना गर्दा विभिन्न पुस्तकहरु पढ्नुपर्ने हुन्छ । अग्रजसँग सोध्नुपर्ने हुन्छ । आफैले पनि खोज्नुपर्ने हुन्छ । यसरी खोजीखोजी अध्ययन गर्ने बानीले गर्दा पठन संस्कृतिसँगै लेखन संस्कृतिको पनि विकास भएको छ । पठन र लेखन संस्कृतिमा भएको विकासले गर्दा विद्यालयको पाठ्यक्रमको पठनपाठन पनि सँगसँगै विकास हुँदै गइरहेको छ ।

समाजः कृति प्रकाशनपछि साथीभाइ, शिक्षक, अभिभावक लगायतका व्यक्तिहरुको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
ऋत्विकः
मेरो कृति प्रकाशनपछि साथीहरुबाट सोचेजस्तो खासै सकारात्मक प्रतिक्रिया आएन । शिक्षक, अभिभावक तथा मेरा अग्रजहरुबाट भने मैले धेरै हौसला पाएको छु । जसले गर्दा अभैm साहित्य लेखनमा ऊर्जा थपिएको छ ।

समाजः आफ्नो औपचारिक शिक्षाका साथसाथै साहित्य सिर्जनामा लागेर ज्ञानको दायरा बढाउन के–के गर्नुपर्छ ?
समर्पणः
अहिलेको पुस्ताहरुले साहित्यको सूत्र खोजिरहेका छन् । तर मेरो विचारमा साहित्यको कुनै सूत्र हुँदैन । साहित्य सिर्जना गर्नका लागि पहिले आफुसँग जोश, जाँगर र उत्साह हुनुपर्दछ । म चाँहि साथीहरुलाई के भन्न चाहन्छु भने, शुरुमा पठन संस्कृतिको विकास गराउनुपर्छ । त्यसपछि लेखन संस्कृतिमा पनि विकास गर्नुपर्छ । आफुले जानेको कुरा भाव मिलोस या नमिलोस्, विचार मिलोस् या नमिलोस् लेख्नुपर्छ । पछि त्यसलाई नै परिस्कृत गरेर एउटा साहित्यको रुप दिन सक्नुपर्दछ ।