फाइल तस्वीर ।

हेटौंडाः पाँचौ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपमा बिहीबार भएको खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गर्दै एपीएफ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफले त्रिभुवन आर्मीलाई ४–२ गोलअन्तरले पराजित ग¥यो । टाइब्रेकरमा त्रिभुवन आर्मीको दुईवटा प्रहार रोकेका एपीएफ क्लबका गोलरक्षक राजु नगरकोटी म्यान अफ द म्याच घोषित भए । राजु नगरकोटीले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

एपीएफका लागि नवीन लामा, सुदीप शिख्राकार, शनी श्रेष्ठ र दिपेश धिमालले गोल गरे । आर्मीका नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहारलाई रोकेपछि एपीएफ जितउन्मुख भएको हो । टंक बुढाथोकी र विकास खवासले प्रहार गरेको बल गोल भए पनि हारलाई टार्न पर्याप्त भएन ।