रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः लकडाउनका बेला आज बिहान मकवानपुरका लायन्स तथा लियो क्लबहरुको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । रक्त सञ्चार केन्द्र हेटौंडामै पुगेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । लकडाउनका कारण रक्तसंचार केन्द्रमा रगतका अभाव भइरहेका समयमा लायन्स तथा लियोले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
यसअघि पनि रगतको अभाव पूर्ति गर्न जेसीआई हेटौंडा लेडीले आयोजना गरेको रक्तदानमा ४३ जना, एफसी विजय यूथले आयोजना गरेको रक्तदानमा २३ जना र कपडा तथा तयारी पोशाक व्यवसायी संघले आयोजना गरेको रक्तदानमा ६ जनाले रक्तदान गरेका थिए । लकडाउनका बेला रक्तदान कार्यक्रम नहुँदा रगत संकलन हुन नसक्दा अभाव भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले बताउनुभयो । रगतको अभाव हुँदा रक्तसञ्चार केन्द्रले फोन गरेर बोलाउँदा आउने रक्तदातालाई बोलाएर रगतको मागअनुसार तत्काल आपूर्तिको व्यवस्था मिलाउने गरेको थियो ।