हेटौंडाः निरज श्रेष्ठको स्मृतिमा जारी जिल्लास्तरीय अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भुटनदेवी मावि र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीबीच खेल हुने भएको छ । बुधबार भएको सेमीफाइनल खेलमा भुटनदेवीले जिएस निकेतनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने सोलिड्यारिटीले आधुनिक राष्ट्रिय माविलाई पराजित गरेको हो । फाइनल खेल बिहीबार बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको पहिलो सेमिफाइनल खेलमा जिएस निकेतनलाई ७१ रनले हराउँदै भुटनदेवी फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको भुटनदेवीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । भुटनदेवीका लागि बिटु पलले ५१ रन र ओम प्रकाशरामले ३० रन बनाए । जवाफी व्याटिङमा उत्रिएको जिएस निकेतनले १८ ओभर ५ बलमा अलआउट हुँदै जम्मा १ सय ६ रन बनाएको थियो । म्यान अफ द म्याच भुटनदेवीका बिटु पल घोषित भए ।
यस्तै बुधबारनै भएको दोस्रो सेमिफाइनल खेलमा आधुनिक राष्ट्रिय माविलाई २ विकेटले हराउँदै सोलिड्यारिटी फाइनलमा प्रवेश गरेको हो । टस जितेर व्याटिङ गरेको आधुनिकले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३ रन बनाएको हो । आधुनिकका ब्याट्सम्यान प्रिन्स यादवले ३३ रन बनाए पनि अन्य ब्याट्सम्यान भने खासै चल्न सकेन । १ सय ४ रनको लक्ष्य पछ्याएको सोलिड्यारिटीले ८ विकेट गुमाउँदै पूरा गरेको हो । सोलिड्यारिटीका लागि एम डि साकिबले अविजित ६१ रन बनाए । म्यान अफ द म्याच सोलिड्यारिटीका एम डि साकिब घोषित भए ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।