निर्वाचनमा मिडियाको भूमिका विषयक छलफलमा सहभागीहरु ।

हेटौंडाः प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका र आचारसंहितबारे आइतबार बिहान हेटौंडामा छलफल भएको छ ।

नेपाल पत्रकार महासंघअन्तर्गतको फ्रि मिडिया नेटवर्कको आयोजनामा महासंघका अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्कालगायतको उपस्थितिमा छलफल भएको हो ।

छलफललाई सम्बोधन गर्नुहुँदै महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली सञ्चार माध्यम र सञ्चारकर्मी सदैव जिम्मेवार भएर प्रस्तुत भइरहेको र निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सम्पन्न गर्न, गराउन सञ्चार माध्यम जिम्मेवार रहेको दावी गर्नुभयो । निर्वाचन आयोगले तयार पारेको आचारसंहिता मिडियामैत्री हुन नसकेको, निर्वाचनकै प्रक्रियालाई पनि पारदर्शी बनाउनेतर्फ जिम्मेवार नभएको टिप्पणी गर्नुभयो ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले मकवानपुर जिल्लामा निर्वाचनको गतिविधि सौहाद्र्ध वातावरणमा भइरहेको उल्लेख गर्नुहुँदै सञ्चारमाध्यम जिम्मेवार भएर प्रस्तुत हुँदा अझै सहज हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मिडियालाई सहजरुपमा सूचना संकलन र सप्रेषणका लागि स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

छलफलमा सहभागी सञ्चारकर्मीले निर्वाचन अधिकृतको कार्यालय मिडियामैत्री हुनुपर्ने सुझाव दिएका छन् । मिडियालाई सहज वातावरणमा सूचना संकलन र सम्प्रेषणको वातावरण बनाउन निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन र प्रहरीका अधिकारी जिम्मेवार हुनुपर्नेमा सञ्चारकर्मीले जोड दिएका छन् ।