हेटौंडाः मकवानपुर जिल्लाको दुर्गम कैलाश गाउँपालिका–१, खोलाखर्कस्थित गुप्तेश्वरी आधारभूत विद्यालयका विद्यार्थीले दशैंको बिदाअघि दशैं भोज खाएका छन् । विद्यालयले विद्यार्थीलाई मासु चिउरा खुवाएर पर्व बिदा दिएको हो ।
५ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ३५ जना विद्यार्थी अध्ययनरत छन् । पर्व बिदाअघि परीक्षा लिएर असोज ७ गते दशैं भोजको आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक सपना लामाले जानकारी दिनुभयो । दशैं भोजसँगै विद्यार्थीबीच शुभकामना आदानप्रदान समेत गरिएको थियो । विद्यार्थीले कलात्मक शैलीमा शुभकामना कार्ड समेत बनाएका थिए । दुईजना शिक्षक र एकजना कार्यालय सहयोगी रहेको विद्यालयमा नियमित पठनपाठन भने बहुकक्षा विधिबाट सञ्चालन गरिरहेको प्रधानाध्यापक लामा बताउनुहुन्छ ।
प्रारम्भिक बालविकास कक्षा र १ कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर प्रारम्भिक बालविकास शिक्षकले कक्षा लिनुहुन्छ भने प्रधानाध्यापक लामाले कक्षा २, ३, ४ र ५ लाई एउटै कक्षामा राखेर पढाउनुहुन्छ । १४ वर्ष हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा शिक्षण गर्नुभएकी हेटौंडा–४ की सपना लामाले हेटौंडा–१४, भृकुटी मावि एक वर्ष अनुदान कोटामा मावि शिक्षकको रुपमा कार्य गर्नुभयो । प्रावि राहत कोटामा कैलाश–१, खोलाखर्कस्थित गुप्तेश्वरी आधारभूत विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएकी लामाले आफूले सकेजत्ति राम्रो काम गर्ने प्रयास गरिरहेका जानकारी दिनुभयो ।
गुप्तेश्वरी आधारभूत विद्यालयको प्रारम्भिक बालविकास कक्षामा ९ जना, कक्षा १ मा ६ जना, कक्षा २ मा ७ जना, कक्षा ३ मा ६ जना, कक्षा ४ मा ४ जना र कक्षा ५ मा ३ जना विद्यार्थी अध्ययनरत छन् । भर्ना भएका ३५ जना विद्यार्थी नियमित रहेको र प्रथम त्रैमासिक परीक्षामा सबै सामेल भएको प्रधानाध्यापक लामाले बताउनुभयो । आफ्नो अनुभवका आधारमा दुर्गम क्षेत्रको विद्यालयको शिक्षण सिकाई क्रियाकलापमा सुधार ल्याउने प्रयास गरिरहेको र जनप्रतिनिधि, पालिकाको शिक्षा शाखाका अधिकारीलाई आवश्यक सहयोगका लागि आग्रह गरिरहेका पनि उहाँको भनाइ छ । आधारभूत तहका विद्यार्थीलाई प्रभावकारी सिकाईका लागि स्मार्ट टिभि भए अझ राम्रोसँग विद्यार्थीलाई सिकाउन सकिने उल्लेख गर्नुहुँदै वडा र पालिकाबाट टिभि सहयोग लिन पहल गरिरहेको पनि लामाले बताउनुभएको छ ।