हेटौंडाः ईलाका प्रहरी कार्यालय भिमफेदीमा दरबन्दी भई कार्यरत प्रहरी निरीक्षक प्रतिमा कार्की भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । कार्कीले जिम्मेवारी कुलशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गर्दै आउनु भएकोले उहाँलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा भदौ ९ गते बिहान साढे ३ बजेको समयमा नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ३९८७ नम्बरको आईचर ट्रकलाई शंका लागी सुरक्षाजाँच गर्दा लागूऔषध गाँजा १७ वटा पोकामा जम्मा २ सय ५६ किलो २ सय ८० ग्राम फेला पारी उक्त ट्रक, गाँजा र ट्रक चालकलाई पक्राउ गरिएको थियो । यस्तै, सोही दिन बिहान ३ बजे ४० मिनेटको समयमा नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख २७१८ नम्बरको आईचर ट्रकको लागूऔषध गाँजा १९ वटा पोकामा २ सय ८६ किलो ८ ग्राम फेला पारी ट्रक र गाँजा नियन्त्रणमा लिएको थियो ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६४०३ नम्बरको सुमोलाई सुरक्षाजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली गरी ल्याएको तन्ना ११ पिस, साडी ३२ पिस, कुर्ता सुरुवाल ३० पिस, सल ५ पिस, लेगिज ३ पिस र लेडिज चप्पल २१ जोर फेला पारी राजश्व कार्यालय पथलैयामा बुझाएको थियो । कार्कीले जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ भई त्रुटीरहित ढंगबाट कार्य सम्पादन गर्दै बिभागिय नीति निर्देशनको अक्षरस पालना गरिएको भन्दै उहाँको कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न कार्कीलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।